शेयर बजारमा दोहोरो गिरावट
वि.सं.२०८३ मंसिर ११ शुक्रवार १५:१७
shares

काठमाडौं, ११ मंसिर । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन बिहीबार पनि घटेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले शुक्रबारसमेत ओरालो यात्रालाई निरन्तरता दिएको हो ।
शुक्रबार नेप्से परिसूचक ८.५७ अंकले घटेर २ हजार ६२८.१७ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ०.९६ अंक, फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१६ अंकले घटेका छन् ।
नेप्से परिसूचकसँगै यस दिन कारोबार रकममा पनि कमी आएको छ । बिहीबार ५ अर्ब ४८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा शुक्रबार ३५३ स्टकको ४२ हजार ८२१ पटकको कारोबारबाट ४ अर्ब ८२ करोड ४७ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ३१ लाख ९८ हजार कित्ता शेयर किनबेच भएको छ ।
एनआईसी एशिया बैंकको शेयरमूल्य सर्वाधिक बढ्यो
यस दिन एनआईसी एशिया बैंकको शेयरमूल्य सर्वाधिक ६.०८ प्रतिशतले बढेको छ । बैंकको शेयरमूल्य समायोजन भई यस दिन कारोबार खुलेको थियो ।
त्यस्तै, माण्डु हाइड्रोपावरको शेयरमूल्य साढे ४ प्रतिशतभन्दा बढी र बेष्ट फाइनान्सको शेयरमूल्य करिब साढे ४ प्रतिशतले बढेको छ । यता, कारोबारमा आएको सोपान फर्मास्यूटिकल्सको शेयरमूल्य भने सर्वाधिक ५.३७ प्रतिशतले घटेको छ ।
कारोबार रकममा लक्ष्मी सनराइज बैंक अगाडि
कारोबार रकमका आधारमा शुक्रबार लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको २४ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यस्तै, ग्लोबल आइएमई बैंकको साढे २१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने हिमालयन उर्जा विकास कम्पनीको कारोबार रकम १५ करोड रुपैयाँ नाघेको छ ।
११ उपसमूहको परिसूचक घट्यो
नेप्सेमा कारोबार भएका १३ उपसमूहमध्ये शुक्रबार दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंकिङ र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंकले बढेका छन् ।
कारोबारमा आएका उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ६७.४३ अंकले घटेको छ ।

















