Dhulikhel Eco Banner new

मौद्रिक नीति के हो ? के यसले नेपाललाई श्रीलंका हुनबाट जोगाउँछ ?

7.09K
shares

काठमाडौं, ६ साउन । केन्द्रीय बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ । अर्थतन्त्र समस्या परेको बेला आउन लागेको मौद्रिक नीति भएका कारण अहिले यसलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफैले अर्थतन्त्र श्रीलंकाको बाटोमा रहेको बताएका थिए । सरकारले ल्याएको वित्त नीति (बजेट) कार्यान्वयनका लागि सहयोग पुग्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्ने गरेको छ । देशको अर्थतन्त्रलाई चलायमान बनाउने गरी केन्द्रीय बैंकले मौद्रिक नीति बनाउने गरेको छ ।

मौद्रिक नीति सबैको मुखमा झुण्डिएको भए पनि धेरैलाई यो नीति कस्तो नीति हो ? भन्ने विषयमा भने जानकारी नहुन सक्छ । समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो ।

मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र व्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ । अझ सामान्य रुपमा भन्नुपर्दा मुद्राप्रदाय (मुद्रा आपूर्ति) नियन्त्रण गर्नको लागि बनाइने नीति मौद्रिक नीति हो । मौद्रिक नीति कुनै पनि मुलुकको केन्द्रिय बैंकले निर्माण गर्दछ । नेपालमा पनि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदै आएको छ ।

मानिससँग आवश्यकताभन्दा बढी पैसा हुँदा बजार मूल्य बढ्ने हुँदा मागअनुसारको मात्रै मुद्रा आपूर्ति गर्नका लागि मौद्रिक नीति बनाइन्छ । मूल्य तथा शोधनान्तर स्थिरता कायम गर्दै समग्र वित्तीय प्रणालीको विकासका लागि नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भए बमोजिम केन्द्रीय बैंकले आर्थिक वर्ष २०५९/६० देखि मौद्रिक एवम्वित्तीय क्षेत्रसँग सम्बन्धित नीति तथा कार्यक्रमहरु र सोको समीक्षा संलग्न गरी औपचारिक रुपमा मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ ।

अर्थतन्त्रलाई चलायमान बनाउनका लागि मौद्रिक नीतिको भूमिका महत्वपूर्ण हुन्छ । तथापि, अर्थतन्त्रमा देखिएका सबै समस्या भने मौद्रिक नीतिले समाधान गर्न सक्दैन । मौद्रिक नीति कस्तो बन्छ भन्ने विषय वित्त नीति अर्थात बजेट कस्तो बनेको छ भन्ने विषयमा निर्भर हुन्छ । अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिनका लागि वित्त नीति र मौद्रिक नीति दुबै सही चाहिन्छ ।