Dhulikhel Eco Banner new

बाँकेमा बढ्यो चुनावी चहलपहल

4.28K
shares

काठमाडौं, २१ भदौं । आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा उम्मेदवार सिफारिशससँगै चुनावी चहलपहल पनि सुरु भएको छ ।ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि तीन वटै क्षेत्रमा सम्भावित उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् भने नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दल भने उम्मेदवारी सिफारिसमा जुटेका छन् । नेपाली कांग्रेसले बाँके क्षेत्र नं १ मा जिल्ला सभापति नारायणप्रसाद गौडेल, पूर्वक्षेत्रीय सभापति माधवराम खत्री र तरुण दलका पूर्व महासचिव हुर्मतकुमार न्यौपानेको नाम सिफारिस गरेको छ ।
क्षेत्र नं २ मा पूर्वजिल्ला सभापति किरण कोइराला, क्षेत्र नं २ का सचिव सुनिलसिंह हमाल र पूर्वजिल्ला सदस्य तथा तरुण दलका जिल्लाअध्यक्ष वीरेन्द्रबहादुर शाहको नाम सिफारिस गरिएको छ । त्यसैगरी क्षेत्र नं ३ मा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा, कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरसहित बाँकेका बादशाह कुर्मी, आशा विक, मेघराज ओली, लक्ष्मणनारायण शाह, मोहम्मद नक्की खाँ, देवबहादुर खत्री, उत्तमराज घिमिरे र तेजेन्द्र कँडेलको नाम पनि सिफारिस भएको क्षेत्र नं ३ का सभापति महोम्मद नक्की खाँले बताए ।

नेकपा एमालेले पनि जिल्लाका तीनवटै प्रतिनिधिसभा र छ वटै प्रदेशसभा सदस्यमा उम्मेदवारको नाम सिफारिस गरेको छ । क्षेत्रीय कमिटीबाट सिफारिस भएका सम्भावित उम्मेदवारको सूचीमा अधिकांश नयाँ अनुहार छन् । क्षेत्र नं १ मा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सूर्य ढकाल, अनुशासन आयोग सदस्य देवराज भार, प्रदेश कमिटी सदस्य पुजन विश्वकर्मा र जिल्ला सचिवालय सदस्य बलराम भट्टराईको नाम सिफारिस गरिएको पार्टीका जिल्लाउपाध्यक्ष डिल्ली विसीले जानकारी दिए ।

उनका अनुसार क्षेत्र नं २ मा केन्द्रीय सदस्य मोहम्मद हारुन हल्वाई, प्रदेश कमिटी सदस्य शिव डोटेल र रवीन्द्र लम्सालको नाम सिफारिस भएको छ । यसैगरी क्षेत्र नं ३ कमिटीले प्रतिनिधिसभा सदस्य उम्मेदवारको लागि जिल्ला कमिटी अध्यक्ष किस्मतकुमार कक्षपति र सचिव रत्न खत्रीको नाम सिफारिस गरेको छ । जनता समाजवादी पार्टीले क्षेत्र नं २ मा पार्टीका केन्द्रीय सचिव एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको एकल नाम सर्वसम्मत गरी पठाएको उक्त पार्टीका जिल्ला सचिव राजेन्द्र विकले जानकारी दिए ।

उम्मेदवारको सिफारिससँगै आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्ष्य गरेर बाँकेमा राजनीतिक दलको चुनावी चहलपहल सुरू भएको छ । राजनीतिक दलहरुले चुनाव केन्द्रीत राजनीतिक गतिविधि सञ्चालन गर्न थालेका छन् । भने स्वतन्त्र उम्मेदवार घोषणा गर्ने क्रम पनि बढ्दै गएको छ । तीन सङ्घीय र छ प्रदेश निर्वाचन क्षेत्र रहेको बाँकेमा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दलहरुले चुनाव केन्द्रीत अभियानसहित सक्रियता देखाउन थालेका छन् ।