सिक्लेस हाइड्रोपावरले भोलिबाट आईपीओ निष्काशन गर्दै
वि.सं.२०७९ भदौ २८ मंगलवार १७:१८
shares

काठमाडौं, २८ भदौ । सिक्लेस हाइड्रोपावर लिमिटेडले भोलि मंगलवार अर्थात् भदौ २९ गतेदेखि सर्वसधारणमा आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
उक्त शेयरमध्ये ३ प्रतिशत अर्थात् ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात् ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिएको छ भने बाँकी १० लाख ५८ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा असोज १२ गतेसम्म समय थप हुनेछ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले आईपीओमा मेरो शेयर एप र वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सकिनेछ ।
कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिका वडा न. १, २ र ३ मा मढ्कुखोलाको पानीबाट १३ मेगावाट क्षमताको विद्युत् आयोजनाको कुल लागत २ अर्ब ३१ करोड रहेको छ भने प्रतिमेगावाट उत्पादन लागत लगभग १७ करोड ८२ लाख रहेको छ ।

















