Dhulikhel Eco Banner new

व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री देउवा

3.63K
shares

काठमाडौं, ९ असोज । प्रधानमन्त्री शेर बहादुर देउवाले उद्योगी व्यवसायी र सरोकारवालासँग छलफल गर्ने भएका छन् । महँगी नियन्त्रण र बजार अनुगमन बढाउने विषयमा उद्योगी व्यवसायी र सरोकारवाला निकायसँग प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री देउवाले आइतबार व्यवसायीहरुलाई छलफलका लागि बालुवाटारमा बोलाएको बताइएको छ । छलफलमा, गृह मन्त्री बालकृष्ण खाँड, अर्थ मन्त्री जनार्दन शर्मा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, मुख्य सचिव शंकरदास बैरागी, गृह सचिव विनोद सिंह, अर्थसचिव कृष्णहरी पुष्कर कर्ण, उद्योग सचिव तोया नारायण ज्ञवाली, वाणिज्य तथा आपूर्ति सचिव तोयम राया, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराई लगायतका उच्च सरकारी अधिकारी सहभागी हुने छन् ।

देशको वर्तमान आर्थिक अवस्था र दशैं, तिहार र छठ पर्वलाई मध्यनजर राख्दै महँगी नियन्त्रणका लागि बजार अनुगमन कसरी गर्ने भन्ने विषयमा छलफल गर्न लागिएको छ । छलफलमा सहभागी हुन निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवाल, नेपाल च्याम्बर अफ कर्मसका अध्यक्ष राजेन्द्र मल्ल लगायतका उद्योगी र व्यवसायीलाई बोलाइएको छ ।