देशभर भारी वर्षा, सावधानी अपनाउन आग्रह
वि.सं.२०७९ असोज १९ बुधवार ०८:३४
shares

काठमाडौं, १९ असोज । आज यो वर्षको बडा दशैँ हो । दशैँको रमाइलो र घमाइलो यो वर्ष देख्न पाइएन् । देशका अधिकांश स्थानमा मंगलबार देखिनै वर्षा भए पछि यो वर्षको दशैँ झरीमय बनेको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर नै पानी परिरहेको छ । दशैँको मुख्य दिन आज मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । विगतमा कोरोना महामारीले केही खल्लो भएको दशैँ यसवर्ष धेरै उत्साहका साथ मनाइँदैछ । तर, लगातार जसो परिरहेको पानीले टिका थाप्न मान्यजन र आफन्तकहाँ पुग्नेहरुलाई सास्ती हुन् देखिएको छ ।
दशैँमा यात्रा गर्दा सडक तथा खोलाबारे पूर्वजानकारी लिन तथा छाता, लगायत पानीबाट जोगिने वस्तु बोक्नका लागि मौसमविद्ले आग्रह गरेका छन् । अहिले प्रदेश एक, मधेश, गण्डकी, लुम्बिनीलगायतका प्रदेशमा पानी परेको छ । झापा, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, सप्तरी, ओखलढुङ्गा, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, पाल्पा, अर्घाखाँची, गुल्मी, नवलपरासी, रोल्पा, रूकुम पूर्व, प्यूठानलगायतका जिल्लामा ठूलो वर्षा भएको छ । यी क्षेत्रमा बाढी पहिरोको समेत जोखिम भएकाले सावधानी अपनाउनका लागि आग्रह गरिएको छ ।



















