भारतबाट इन्धनको मूल्य घटेर आयो, नेपालमा भने यथावत
वि.सं.२०७९ मंसिर १७ शनिवार १५:१२
shares

काठमाडौं, १७ मंसिर । नेपाल आयल निगमले इन्धनको मूल्य नघट्ने जनाएको छ । भारतबाट इन्धनको मूल्य समायोजन हुँदै घटेर आएको अवस्थामा पनि निगम घाटामा रहेको भन्दै मूल्य नघटाउने भएको हो ।
निगमले विज्ञप्ति निकालेर अहिले पनि २७ अर्ब घाटामा रहेको भन्दै मूल्य समायोजन नगर्ने जनाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको भन्दै मूल्य नघट्ने जानकारी दिएको हो ।
इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट १५ मङ्सिरमा प्राप्त खरिद मूल्यअनुसार एलपी ग्यासको मूल्य केही बढेको छ भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा केही घटेर आएको छ । ‘मङ्सिर १५ गते पाएको खरिद मूल्यसूचीबमोजिम एलपी ग्यासमा प्रतिसिलिण्डर ४३.९३ रुपैयाँले बढेर आएको छ । एलपी ग्यासमा निगमलाई हाल प्रतिसिलिन्डर २७७.०२ घाटा भइरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘निगमले इन्डियन आयल कर्पोरेशनलाई हालसम्म तिर्न बाँकी रकम, पुरानो बक्यौता तथा नेपाल सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी करिब २७ अर्ब रुपैयाँ तिर्न बाँकी छ ।’
ग्यास सिलिन्डर बिक्रीबाट मात्र निगमलाई १५ दिनमा ३६ करोड ८५ लाख घाटा हुने देखिएको निगमले जनाएको छ । यद्यपि पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा मूल्य घट्दा पनि यथावत् राख्दा १५ दिनमा करिब ५८ करोड नाफा हुने निगमले जनाएको छ ।















