Dhulikhel Eco Banner new

दर्जन बढी गाउँमा टिप्दैन मोबाइलको नेटवर्क

5.23K
shares

काठमाडौं, २२ मंसिर । कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाँउपालिका–१ को आधारभूत विद्यालय भाराङमा आउनुभएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो ।

घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदाहुँदै पनि उनले मोबाइलको नेटवर्क नहुँदा फोन गर्न पाएकि छैनन । “फोन सम्पर्क नहुँदा मन आत्तिन्छ”, उनले भनिन्”, “यहाँ आएको एक वर्ष भयो नेटवर्कको समस्या उस्तै छ ।” भाराङ आसपासका एक दर्जन गाउँमा मोबाइलको नेटवर्क नहुँदा स्थानीय फोन सेवाबाट बन्चित भएका छन् । कोलभञ्ज्याङकी लालमाया चेपाङ मोबाइलको नेटवर्क नहुँदा विदेशमा भएको श्रीमान्सँग सहजरुपमा कुरा गर्न नपाएको बताउछिन् । “सबै कुराले पछाडि परेका हामी मोबाइल नेटवर्कले झन् पछाडि पारेको छ, गाउँमा गाडी आइपुग्दा पनि घरबाटै मोबाइलमा कुरा गर्न पाइएको छैन”, उनले भनिन् ।

इच्छाकामना गाउँपालिका–१ को चौकीडाँडा, बङ्घ्याङ, जैथली, विङलाङ, कोलभञ्ज्याङ, थाप्राङ, राजभोग, ज्यान्दला, जौतेस, कालिन र तिपाङमा मोबाइलको नेटवर्क टिप्दैन । यस्तै हात्तीबाङको पनि केही क्षेत्रमा नेटवर्कको समस्या रहेको वडाध्यक्ष सन्तबहादुर मगरले बताए । “मेरो वडाको एक दर्जन गाउँमा फोन सेवा छैन, उनले भने”, “भएको ठाँउमा पनि नेटर्वक समस्याले राम्रोसँग कुरा गर्न पाइँदैन ।” उनले वडाको झण्डै तीन हजार जनसङ्ख्या सञ्चार सेवा फोनबाट वञ्चित रहेको बताए । सो वडामा अधिकांश चेपाङ समुदायको बसोबास रहेको छ ।

नेटवर्कको समस्या सामाधान गरिदिन नेपाल टेलिकम र एनसेललाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको उनले गुनासो गरे । “यसै त भौगोलिकरुपमा पछि परेको ठाँउ हो हाम्रो, वडाध्यक्ष मगरले भने”, “विकास र प्रविधिको जमानमा पनि हामी फोन गर्न पाउँदैनौँ ।”