गुणस्तरीय स्वास्थ्य सेवाका लागि शिविरको भर
वि.सं.२०७९ मंसिर २२ बिहीवार १६:००
shares

काठमाडौं, २२ मंसिर । रुकुमपूर्व भूमे गाउँपालिका–४ काँडाका मनशोभा बुढा ९५ वर्षको भए । बुढेसकालले छोएसँगै उनले विगत दुई वर्षयता आँखाको ज्योति गुमाएका थिए । परिवारका अन्य सदस्यको साहारा लिएर घरभित्र र बाहिर गर्दै आउएका बुढाले रुकुमकोटमा आँखाको उपचार गरेपछि विगतको जस्तै देख्न थालेका छन् ।
यस्तै भूमे–३ का ७७ वर्षीय गोकुल विकले पनि आँखाको उपचारपछि राम्रोसित देख्न थालेका छन् । आँखाको शल्यक्रियापछि उनि दङ्ग छन् । रुकुमपूर्वमा यही मङ्सिर १८, १९ र २० गते स्वास्थ्य शिविर आयोजना गरिएको थियो । उक्त शिविरमा एक सय एक जनाको आँखाको शल्यक्रिया गरिएको थियो ।
सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी माविमा एक–एक पाइला फाउण्डेशन र गोपाल शाहको परिवारले सिस्ने गाउँपालिका, राप्ती आँखा अस्पताल रक्षाचौर दाङलगायत अन्य निकायसँगको सहकार्यमा आयोजना गरेको शिविरबाट धेरै लाभान्वित भएका छन् । रुकुमपूर्वमै आँखाको शल्यक्रिया गर्ने सुविधा नहुँदा र पछिल्लो समयमा जिल्लामा आँखा शिविर सञ्चालन नगर्दा एउटै शिविरबाट धेरैले लाभ लिएका छन् ।
घरआँगनमै एक रुपैयाँ खर्च नगरी आँखाको शल्यक्रिया गर्न पाउँदा खुसी लागेको भूमे–५ का पृथीबहादुर कामीले बताए । उनि भन्छन्, “म अहिले ७६ वर्षको भएँ, ४० वर्षको उमेर हुँदा आँखाको ज्योति गुमेको थियो । आर्थिक अवस्था कमजोर भएकाले अन्यत्र गएर उपचार गर्न सकिन, अहिले देख्न सक्ने भए ।”
सिस्ने गाउँपालिका–५ का गनेश शाहले शिविरबाट धेरैजना लाभान्वित भएको बताए । “जिल्लामै भरपर्दो स्वास्थ्य सेवा पाउन समस्या छ, भरपर्दो सेवाका लागि दाङ, नेपालगञ्ज, काठमाडौँलगायत ठाउँ धाउनुपर्ने बाध्यता छ”, उनले भने ।
शिविरबाट एक हजार आठ सय चार जना लाभान्वित भएको एक–एक पाइला फाउण्डेशनका अध्यक्ष एवं नेत्ररोग विशेषज्ञ डा सुमनशम्शेर थापाले बताए । “रुकुमपूर्वमा एक–एक पाइलाको यो २६औँ शिविर हो, यहाँ धेरै बिरामी लाभान्वित भएका छन् ।” शिविरमा नेत्ररोग विशेषज्ञ डा थापासँगै राप्ती आँखा अस्पताल रक्षाचौर दाङका डा सुरेश रसाइली, स्त्रीरोग विशेषज्ञ डा ऋचा गिरी, छाला रोग विशेषज्ञ डा सविना भट्टराई, कान रोग विशेषज्ञ डा कुञ्जन आचार्य, दाँतरोग विशेषज्ञ डा उषा थापा, रेडियोलोजी डा अमित श्रेष्ठ, प्याथोलोजी डा डोल्कर घले, बालरोग विशेषज्ञ डा विश्व अधिकारी, डा सुदाम्सु केसी, डा राज राणासहित ५५ जनाको टोलीले स्वास्थ्य शिविरमा सेवा प्रदान गरेको थियो ।


















