ग्रामीण सडक व्यवस्थित नहुँदा करोडौँंको बाँस दाउरामा परिणत
वि.सं.२०७९ मंसिर २६ सोमवार १५:०९
shares

काठमाडौं, २६ मंसिर । पहाडी तथा उत्तरी पहाडी क्षेत्रको ग्रामीण भेगमा उत्पादन भएका करोडौँ मूल्य पर्ने बाँस व्यवस्थित सडकको अभावमा अन्यत्र बिक्री गर्न समस्या हुँदा दाउरामा परिणत भएको छ ।
जिल्लाको मध्य पहाडी क्षेत्रको इनामे, बर्रे, माझखर्क, नामेटार र टाट्ने तथा उत्तरी पहाडी क्षेत्रको बाँसबोटे, ठानागाउँ, बलाम्ता र ताम्लिछा जाते क्षेत्रमा उत्पादन भएका करोडौँ मूल्यका बाँस अन्यत्र बिक्री गर्न नसक्दा दाउरामा परिणत हुने गरेको बाँस उत्पादक किसान बताउँछन् । बर्रेका दानबहादुर तामाङले आफ्नो जग्गाको घरबारी तथा पाखाबारीमा बर्सेनि लाखौँंको बाँस उत्पादन हुने गरेको तर गाउँबाट अन्यत्र बिक्री गर्न सडक नहुँदा आफूहरुले बाँसको घाँस गाईबस्तुका लागि प्रयोग गर्ने तथा बाँस दाउरा बालेर नष्ट गर्नुपरेको बताए ।
अहिले यो क्षेत्रमा सडक पुगेका स्थानमा गाउँलेहरुले प्रतिघना बाँस न्यूनतम रु एक सय पचासदेखि दुई सय ४० घनाका दरले बिक्री गर्ने गरेको तर आफूहरुको गाउँघरसम्म अझै व्यवस्थित सडक विस्तार नहुँदा बाँस बिक्रीमा समस्या हुने गरेको इनामेका जङ्गबहादुर तामाङको गुनासो छ ।
यस क्षेत्रमा उत्पादन भएका बाँस गाउँलेहरुले हस्तकलाका बस्तु उत्पादनमा समेत प्रयोग गर्ने नगरेको र दाउरा मात्र बाल्ने गरेका छन् । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईका अनुसार यस क्षेत्रको सबै ग्रामीण भेगमा कच्ची ग्रामीण सडक व्यवस्थित बन्न बाँकी रहेका कारण किसानले उत्पादन गरेको बाँस अन्यत्र लगेर बिक्री गर्न समस्या हुने गरेको छ ।















