Dhulikhel Eco Banner new

नयाँ सरकार निर्माण पछि शेयर बजारमा उछाल, ९ दिनमा २७५ अंकको वृद्धि

5.16K
shares

काठमाडौं, २१ पुस । पछिल्लो समय शेयर बजार निकै सुस्ताएको थियो । तर नयाँ सरकार निर्माणभएसँगै शेयर बजार उकालो लागि रहेको छ । पुस ११ गते नयाँ सरकार निर्माण भयो । विभिन्न कारणले पुस ७ गते देखि ११ गतेसम्म सार्वजनिक बिदा परेकाले शेयर बजार कारोकार भएन । नयाँ सरकार निर्माण हुनुभन्दा पहिलेको कारोबार पुस ७ गते भएको थियो । सो दिन नेप्से परिसूचक १८६८ विन्दुमा रहेको थियो ।

नयाँ सरकार गठन भए पछिको पहिलो कारोबार दिन नै शेयर बजारमा भारी वृद्धि भयो । पुस ७ गते १८६८ विन्दुमा रहेको शेयर बजार परिसूचक पुस ११ गते ५६ अंकले बढेर १९०० विन्दु पार ग¥यो । नयाँ अर्थमन्त्रीका रुपमा विष्णु पौडेल आएसँगै शेयर बजार बढ्ने क्रम जारी रहयो । पुस ११ गते ५६ अंकले बढेको बजार त्यसको भोलिपल्ट १२ पुसमा ५९ अंकले बढ्यो । १३ गते शेयर बजारमा सामान्य गिरावट आयो । त्यो दिन शेयर बजार परिसूचक १२ अंकले घट्यो ।

त्यस्तै पुस १४ गते पुनः शेयर बजारमा ५६ अंकले वृद्धि भएर २००० विन्दु माथि पुग्यो । लामो समय पछि शेयर बजारले दुई हजार विन्दु पार गरेको थियो । पुस १७ गते १७ अंकले बढ्यो । १८ गते शेयर बजार १७ अंकले नै बढ्यो । १९ गते पुनः शेयर बजारमा सामान्य गिरावट आयो । त्यो दिन शेयर बजार ३ अंकले घट्यो ।

बुधबार हिजो शेयर बजारमा करिब ६५ अंकले बढ्यो । यो दिन शेयर बजार ६४ दशमलव ८७ अंकले बढ्यो । त्यस्तै बिहीबार १८ अंकले शेयर बजारमा वृद्धि भयो । यी ९ दिनको कारोबारमा शेयर बजार १८६८ विन्दुबाट २७५ अंकले बढेर २१४३ दशमलव ९३ विन्दुमा पुगेको छ ।

अहिले शेयर बजारमा सुधार आउनुको मुख्य कारण शेयर बजार मैत्री अर्थमन्त्री हुनु रहेको नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको भनाइ छ । नयाँ अर्थमन्त्रीसँग लगानकर्ताहरु सकारात्मक रहेकाले अहिले शेयर बजारमा सुधार देखिएको उनले बताइन । ‘शेयर बजार ३२०० विन्दुसम्म पुगेको समयमा पनि विष्णु पौडेल नै अर्थमन्त्री हुनुहुन्थ्यो । उहाँ फेरि नेतृत्वमा आएसँगै बजारले लय समातेको छ,’ उनले भनिन ।

विगतमा शेयर बजार लगानीकर्ताहरुले अर्थमन्त्रीका रुपमा विष्णु पौडेललाई निकै रुचाएको देखिन्छ । उनै पौडेल २०७२ सालमा अर्थमन्त्री बन्दा शेयरबजार ‘बुलिस ट्रेन्ड’ मा थियो । त्यतिबेला शेयर बजार १८८१ बिन्दुमा रहेको थियो । २०७४ सालमा एमालेले केपी शर्मा ओलीको नेतृत्वमा युवराज खतिवडालाई अर्थमन्त्री बनाएको थियो ।

यो बीचको ६ वर्षसम्म बजारमा कुनै त्यस्तो नयाँ रेकर्ड बनेन । तर २०७७ सालमा अर्थमन्त्रीका रुपमा पुनः विष्णु पौडेल आए त्यस पछि भने बजार निकै बढ्यो । शेयर बजार २०७८ सालमा ३२०० बिन्दुको नयाँ कीर्तिमान बनाएको थियो । त्यसपछि भने बजार पुनः १८०० को विन्दुमा पुगेर अहिले फेरि उकालो लागिरहेको छ ।