मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ खुल्यो
वि.सं.२०७९ माघ १५ आइतवार ०९:५०
shares

काठमाडौं, १५ माघ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आजबाट पहिलो चरणमा स्थानीयबासीहरुका लागि आईपीओ निष्काशन गरेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ७६ करोड रुपैयाँको प्रतिशेयर १०० रुपैयाँ दरका ७ करोड ६० लाख रुपैयाँ बराबरको ७ लाख ६० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।
स्थानीयमा जारी हुने कुल कित्तामध्ये अति प्रभावित क्षेत्र दोलखाको गौरीशंकर गाँउपालिकाको वडा नं। ५ र ६ का बासिन्दाहरुमा ३ लाख ४ हजार कित्ता, प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरी शंकर गाँउपालिका वडा नं. १, २, ३, ४, ७ ८ र ९ का बासिन्दाहरुमा ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित क्षेत्र दोलखा जिल्लाको विगु गाँउपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुमा १ लाख १४ हजार कित्ता शेयर विक्री गरिने कम्पनीले जानकारी दिएको छ ।
साथै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५२ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि बिक्री गरिनेछ ।
यो आईपीओमा खरीदका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । स्थानीय बासिन्दाहरुले यो आईपीओमा अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा माघ २९ गते हुनेछ भने ढिलोमा फागुन १५ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ २९ गतेभित्र आवेदन दिनु पर्नेछ । बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

















