Dhulikhel Eco Banner new

माघ महिनामा ६४ हजार बढीले दिए श्रम स्वीकृति, मुख्य गन्तव्य मलेसिया

5.89K
shares

काठमाडौं, १० फागुन । नेपालबाट माघ महिनामा रोजगारीका लागि ६४ हजार भन्दा बढीले युवा विदेश गएका छन् । माघ महिनामा ६४ हजार २८४ जनाले श्रम स्वीकृति लिएर विदेश गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउको छ ।

विभागका अनुसार माघ महिनामा ५ हजार ८३७ जना महिला र ५८ हजार ४४७ जना पुरुष श्रम स्वीकृति लिएर वैदेशिक रोजारीमा गएका छन् । माघ महिनामा पुस महिनाको तुलनामा रोजगारीका लागि विदेश जाने नेपालीको संख्यामा केही कमी आएको छ । पुस महिनामा नेपालबाट ७१ हजार बढी व्यक्ति रोजगारीका लागि विदेश गएका थिए । माघ महिनामा नयाँ श्रम स्वीकृति लिनेको संख्या ३९ हजार १२४ जना रहेको छ । जसमा ४ हजार २६६ महिला र ३४ हजार ८५८ जना पुरुष रहेका छन् ।

विभागको तथ्यांक अनुसार माघ महिनामा श्रम स्वीकृति लिएर विभिन्न १०० देशमा नेपालीहरु श्रमिकका रुपमा गएका छन् । माघ महिनामा नेपालीहरुको प्रमुख श्रम गन्तव्यका रुपमा मलेसिया परेको छ । विभागको तथ्यांक अनुसार माघ महिनामा नेपालबाट मलेसिया जानका लागि श्रम स्वीकृति लिनेको संख्या १९ हजार ७८३ जना रहेको छ । पुस महिनामा मलेसिया जानका लागि श्रम स्वीकृति लिनेको संख्या २० हजार ३३९ जना रहेको थियो ।

मलेसियापछि रोजगारीका लागि कतार जानेको संख्या धेरै रहेको छ । माघ महिनामा नेपालबाट श्रम स्वीकृति लिएर १२ हजार ७०४ चार जना कतार गएका छन् । पुस महिनामा कतार जानका लागि श्रम स्वीकृति गराउनेको संख्या १३ हजार ६६ जना रहेको थियो । कतारमा विश्वकप फुटबल सकिएसँगै कामदारको माघ घटेको छ । त्यस्तै नेपालीहरुको प्रमुख श्रम गन्तव्यका रुपमा रहेको साउदी अरव जाने नेपाली श्रमिकको संख्यामा कमी आएको छ । माघ महिनामा रोजगारीका लागि साउदी जाने नेपालीको संख्या १० हजार ५७६ जना रहेको छ । पुस महिनामा भने साउदी जानका लागि श्रम स्वीकृति लिनेको संख्या ११ हजार ६२७ जना रहेको थियो ।

त्यस्तै माघ महिनामा नेपालबाट ९ हजार ७७० जनाले युएई जानका लागि श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाएको छ । यो संख्या पुस महिनाका तुलनामा बढेको हो । युएई रोजगारीका लागि पुस महिनामा ९ हजार २७ जना रहेको थियो ।

त्यस्तै माघ महिनामा नेपालबाट श्रम स्वीकृति लिएर कुवेत जानेको संख्या २ हजार ९९२ जना रहेको छ । त्यस्तै साइप्रस जानेको संख्या ४१७, जापानमा रोजगारीका लागि ८८२, माल्टाका लागि २७० जना, क्रोएसियाका लागि ४७१ र रोमानियाका लागि ८०४ जनाले श्रम स्वीकृति लिएका छन् ।