नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्रीको सम्मान, प्रतिखेलाडी ३ लाख दिने घोषणा
वि.सं.२०७९ चैत ३ शुक्रवार १२:०४
shares

काठमाडौं, ३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टीमका खेलाडीलाई जनही तीन लाख पुरस्कारको घोषणा गरेका छन् । शुक्रबार बिहान बालुवाटार बोलाएर प्रधानमन्त्रीले खेलाडी, प्रशिक्षकसहित क्यानका पदाधिकारीलाई बधाई दिनुका साथै सरकारले प्रति खेलाडी जनही तीन लाख पुरस्कार दिने घोषणा गरेका हुन् ।
विजेता खेलाडीहरूलाई सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले ‘मलाई अत्यन्त खुसी लागेको छ। हिजो तपाईहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ। देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ। आगामी दिनमा समेत तपाईहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु।’ भनेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको भनाई उदृतगर्दै उनको सचिवालयले भनेको छ ‘विश्वकप छनोटका लागि तपाईहरूलाई थप सफलता मिलोस् । म तपाईहरूको सुखदुखमा साथमै हुनेछ’ प्रधानमन्त्रीले भने , ‘यसअघि पनि सरकारले तपाईहरूलाई जनही दुई लाख राशीले पुरस्कृत गरिसकिएको छ। आज म तपाईहरूलाई जनही तीन लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु।’ त्यस्तै उनले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशिन समेत दिएका छन् ।
त्यस्तै उनले मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।


















