बैंक, लघुवित्त र सहकारीको बृहत समीक्षा बैठक आयोजना गर्ने प्रधानमन्त्रीको तयारी
वि.सं.२०७९ चैत ५ आइतवार १७:४६
shares

काठमाडौं, ५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याहरू प्याकेजमा सम्बोधन गर्न बृहत समीक्षा बैठक बोलाउने भएका छन् ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वित्तीय संस्थाहरूको अनुगमन र नियमन आवश्यक रहेको भन्दै तत्काल सबैलाई राखेर छलफल गर्ने बताएका हुन् ।
‘‘कुनै समयमा लघुवित्तले निकै राम्रो काम गरेका थिए। मुख्यतः ग्रामीण बस्तीमा सहज र सरल कर्जा प्रवाह गरेको थियो। तर, अहिले जनताले लघुवित्तप्रति कैयौं प्रश्नहरू उठाएका छन् । सहकारीहरूमा पनि समस्या देखिएका छन् । यिनीहरूको बृहत समीक्षा गरी आगामी नीति तर्जुमा गर्न जरूरी छ।’’ प्रधानमन्त्रीको भनाई उदृतगर्दै प्रधानमन्त्रीको सचिवालयले लेखेको छ ।
प्रधानमन्त्रीले भनेका छन् ‘बैक तथा वित्तीय संस्थाहरूको समीक्षा आवश्यक छ । त्यसरी मात्र हामीले व्यवस्थित र वैज्ञानिक नीति तय गर्न सक्छौँ’ प्रधानमन्त्रीले भन्नुभयो, ‘केही दिनमा नै बैंक, वित्तीय संस्था र सहकारीहरूको बृहत समीक्षा बैठक बोलाउने सोच्दैछु । बृहत समीक्षा गरेर यस क्षेत्रका समस्या पहिचान र समाधान गर्छौं।’
बैठकमा प्रधानमन्त्रीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी बोर्डले नियमित अनुगमन र सहजीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।


















