Dhulikhel Eco Banner new

ओलम्पिक छनोटमा नेपाल भियतनामसँग पराजित

5.59K
shares

काठमाडौं, २२ चैत । पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार नेपाललाई भियतनामले ५–१ को फराकिलो अन्तरले पराजित गरेहेको हो ।

भियतनामको जितमा कप्तान हुन्ह न्हुले दुई गोल गरिन् । यस्तै फाम हाइ यन, एनगुएन थि बिच थुए र एनगुएन थि नाले एक एक गोल गरे । नेपालका सावित्रा भण्डारीले एक गोल फर्काईन् । खेलको ११ औं मिनेटमा फाम हाइ यनले गोल गर्दै भियतनामलाई सुरुआती अग्रता दिलाएकी थिइन् । एनगुएन थि बिच थुएको क्रसमा यनले सहजै गोल गरिन् ।

खेलको ३६ औं मिनेटमा कप्तान हुन्ह न्हुले पेनाल्टीमार्फत गोल गर्दा भियतनामले २–० को अग्रता बनायो । कप्तान न्हुकै प्रहारमा नेपालकी समिक्षा घिमिरेले ह्यान्डबल गरेपछि भियतनामले पेनाल्टीको अवसर पाएको थियो ।

३८ औं मिनेटमा एनगुएन थि बिच थुएले गोल गरेपछि पहिलो हाफमा भियतनाम ३–० ले अघि रह्यो । दोस्रो हाफमा भियतनामले थप दुई गोल गर्यो । नेपालले पनि एक गोल फर्कायो । खेलको ४८ औं मिनेटमा थि लोनको क्रसमा कप्तान न्हुले हेडरमार्फत गोल व्यक्तिगत दोस्रो गोल गरेपछि भियतनाम ४–० ले अघि रह्यो ।

खेलको ७९ औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई ४–१ को स्थितिमा ल्याइन् । सरु लिम्बुको चलाखीपूर्ण पासमा सावित्राले दुई डिफेन्डरलाई पछि पार्दै गोल गरिन् । त्यसपछि खेलको इन्जुरी समयमा एनगुएन थिले गोल गर्दै भियतनामलाई ५–१ को जित दिलाईन् ।