Dhulikhel Eco Banner new

प्रधानमन्त्री प्रचण्डले भोलि बिहीबार मृगौला पीडित समाजसंग वार्ता गर्ने

6.58K
shares

काठमाडौं, २९ चैत । मृगौला पीडित सरोकार समाजका प्रतिनिधिसंग भोलि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वार्ता गर्ने भएका छन् । लामो समयदेखि माइतीघर मण्डलामा विरोध गर्दै आएका मृगौला पीडितको मागलाई वेवास्ता गरिरहेको सरकारले बुधबार उनीहरुलाई सिंहदरबारमा बोलाएको थियो ।

बुधवार दिउँसो मण्डलामा विरोध गरिरहेका पीडितहरुलाई प्रधानमन्त्री प्रचण्डका स्वकीय जनसम्पर्क सचिव बुद्धि जिसीले दिउँसो सिंहदरबारमा बोलाएर वार्ता गर्ने प्रयास गरेका थिए ।
तर, पीडित समूहले प्रधानमन्त्री प्रचण्डलाई भेटेरै आफ्नो माग राख्ने बताएपछि जिसीले बिहीवार दिउँसो एक बजे प्रधानमन्त्रीसंग छलफल गराउने आश्वासन दिएको मृगौला पीडित सरोकार समाज नेपालका अध्यक्ष बलराम सुवेदीले बताए ।

उनले भने ‘आज दिउँसो हामी विरोध गरिरहेकै समयमा सरकारले वार्ताको लागि सिंहदरबार बोलाएको थियो । तर,प्रधानमन्त्रीलाई भेट्न दिइएन । हामीले प्रधानमन्त्रीलाई भेटेरै आफ्नो माग राख्ने जिद्दी गरेपछि उहाँले भोलि दिउँसो आठ जनालाई भेट्न बोलाउनु भएको छ ।’

बुधबार आठ जना विरामीसहित पीडितका प्रतिनिधि वार्ताका लागि सिंहदरबार पुगेका थिए ।
सरकारले २०७८ चैत १६ गते मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका तथा क्यान्सर र मेरुदण्ड पक्षघातका विरामीलाई मासिक पाँच हजार रुपैयाँ उपचार खर्च उपलब्ध गराउन मृगौला प्रत्यारोपण डायलाइसिस कार्यविधि बनाएको थियो । यस्तै बजेट मार्फत आर्थिक स्रोतको सुनिश्चित गराएको थियो ।

तर,उक्त कार्यविधिको सबै स्थानीय तहले कार्यान्वयन नगर्दा कतिपय पीडितले सरकारले दिने उपचार खर्चमा पहुँच पुर्याउन सकेका छैनन्् । महंगो उपचार खर्च व्यहोरेर आजित बनेका पीडित औषधोपचारको लागि सरकारसंग लामो समयदेखि सहजीकरण गर्न माग गर्दै आएका छन् ।
उनीहरुले औषधि उपचारका लागि सरकारले मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउने निर्णयको सबै स्थानीय तहले कार्यान्वयन नगर्दा अधिकांश विरामी समस्यामा परेका छन् ।

काठमाडौं बाहिरका धेरै जिल्लाका स्थानीय तहले उक्त कार्यविधिको एकरुपताका साथ तत्काल कार्यान्वयन गर्नुपर्ने माग समाजको छ ।