Dhulikhel Eco Banner new

आईएमई ग्रुपको ग्रुप भाइस प्रेसिडेन्टमा जगदीश खड्का नियुक्त

299
shares

काठमाडौं, ३ मंसिर । आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुप भाइस प्रेसिडेन्ट पदमा नियुक्त गरेको छ। समूहले मंसिर २ गते एक विज्ञप्ति जारी गर्दै खड्कालाई उक्त जिम्मेवारी प्रदान गरिएको जानकारी दिएको हो।

नवनियुक्त भाइस प्रेसिडेन्ट खड्काले आईएमई ग्रुपअन्तर्गतका विभिन्न व्यवसायबीच रणनीतिक सहकार्य र समन्वयको नेतृत्व गर्नेछन्।

समूहका विभिन्न कम्पनीमा रहेका विशेषज्ञता, प्रविधि, बजार पहुँच तथा वितरण सञ्जाललाई एकीकृत गर्दै प्रत्येक व्यवसायलाई थप प्रतिस्पर्धी बनाउनु र समग्र समूहको दीर्घकालीन ब्रान्ड मूल्य अभिवृद्धि गर्नु उनको प्रमुख जिम्मेवारी हुनेछ।

यसका साथै नयाँ सेवा तथा साझेदारी विकास, ग्राहक अनुभवमा सुधार र नेपालको डिजिटल अर्थतन्त्रमा समूहको योगदान विस्तारलाई समेत प्राथमिकतामा राखेर काम गर्ने जिम्मेवारी उनलाई दिइएको छ।

चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खड्कासँग १५ वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ। उनी यसअघि इसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारीमा रहेर काम गरिसकेका छन्। विभिन्न डिजिटल वित्तीय सेवा व्यवसायको नेतृत्व तथा व्यवस्थापनमा समेत उनको अनुभव रहेको छ।

आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले नवनियुक्त खड्कालाई स्वागत गर्दै उनको नियुक्तिले समूहअन्तर्गतका कम्पनीलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

ढकालले डिजिटल रूपान्तरणलाई विस्तार र सुदृढ गर्दै नयाँ व्यावसायिक अवसर सिर्जना गर्न खड्काको अनुभव महत्वपूर्ण हुने बताएका छन्।

त्यस्तै, नवनियुक्त ग्रुप भाइस प्रेसिडेन्ट खड्काले आईएमई ग्रुपका प्राथमिकता र सरोकारवालासँगको सहकार्यमा नतिजामुखी काम गर्न आफू केन्द्रित रहने बताएका छन्।

नेपालको अग्रणी व्यावसायिक समूहका रूपमा रहेको आईएमई ग्रुपले रेमिट्यान्स, बैंकिङ तथा बीमा, डिजिटल वित्तीय सेवा, पर्यटन तथा आतिथ्यता, केबलकार, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, खेलकुद, उत्पादन तथा व्यापारलगायतका विभिन्न क्षेत्रमा लगानी र व्यवसाय विस्तार गर्दै आएको छ।