Dhulikhel Eco Banner new

एनआईसी एशिया बैंकको हकप्रद शेयरका लागि मंसिर ११ गते बुक क्लोज

689
shares

काठमाडौं, ३ मंसिर । एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि मंसिर ११ गते शेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) बन्द गर्ने भएको छ।

बैंकले एक सूचना जारी गर्दै हकप्रद शेयर निष्काशनका लागि मंसिर ११ गते एक दिन बुक क्लोज गर्ने जनाएको हो। यससँगै मंसिर १० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्रै बैंकको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्।

बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँको २ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात् बैंकका शेयरधनीले आफूसँग रहेको प्रत्येक दुई कित्ता साधारण शेयर बराबर थप एक कित्ता हकप्रद शेयर प्राप्त गर्नेछन्।

यसअनुसार बैंकले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। उक्त शेयरको कुल मूल्य ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबर हुनेछ।

बुक क्लोजसम्बन्धी व्यवस्थाअनुसार मंसिर १० गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम भएका शेयरधनी मात्रै हकप्रद शेयरका लागि योग्य हुनेछन्।

यसैगरी, बैंकले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा व्यापारी) लाई सीएम पुल एकाउन्टमा शेयर नराखी सम्बन्धित खरिदकर्ता शेयरधनीको हितग्राही (डिम्याट) खातामै शेयर हस्तान्तरण गर्न आग्रह गरेको छ।

बैंकले उक्त निर्देशन पालना नभएमा त्यसको जिम्मेवारी बैंक, शेयर रजिष्ट्रार वा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकले नलिने सूचनामार्फत स्पष्ट पारेको छ।