Dhulikhel Eco Banner new

सौर्य ऊर्जा कम्पनीको वित्तीय अवस्था : पियोरको लगानी विस्तार, झापाको नाफामा सुधार

650
shares

काठमाडौं, ३ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत सौर्य ऊर्जा क्षेत्रका दुई कम्पनी पियोर इनर्जी र झापा इनर्जीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक वित्तीय विवरणअनुसार दुवै कम्पनीको विद्युत् बिक्री आम्दानी घटेको भए पनि नाफा, लगानी र जगेडा कोषमा भने फरक–फरक अवस्था देखिएको छ।

समीक्षा अवधिमा पियोर इनर्जीले आफ्नो लगानी उल्लेख्य रूपमा विस्तार गरेको छ भने झापा इनर्जीले खुद नाफा बढाउँदै अघिल्लो वर्ष ऋणात्मक रहेको जगेडा कोषलाई धनात्मक बनाउन सफल भएको छ।

पियोर इनर्जीको नाफा घट्यो, लगानीमा उल्लेख्य वृद्धि

पियोर इनर्जीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७३ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको ९० लाख रुपैयाँको तुलनामा १८.६३ प्रतिशतले कम हो।

यस अवधिमा कम्पनीको आम्दानीसमेत ७.०६ प्रतिशतले घटेको छ। यद्यपि, कम्पनीले लगानी विस्तारमा भने उल्लेख्य प्रगति गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड २० लाख रुपैयाँ रहेको कम्पनीको लगानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १६ करोड ४० लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, कम्पनीको जगेडा कोषमा १८३.७ प्रतिशतको वृद्धि भएको छ। यसले तत्कालीन नाफामा गिरावट देखिए पनि कम्पनीले लगानी विस्तार र वित्तीय आधार मजबुत बनाउनेतर्फ काम गरिरहेको देखाउँछ।

झापा इनर्जीको नाफा बढ्यो, जगेडा कोष धनात्मक

यता झापा इनर्जीले भने समीक्षा अवधिमा खुद नाफा २२ प्रतिशतले बढाएको छ। कम्पनीले पहिलो त्रैमासमा ५५ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

तर, कम्पनीको विद्युत् बिक्रीबाट प्राप्त आम्दानी भने ८.८४ प्रतिशतले घटेर २ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ।

झापा इनर्जीको वित्तीय अवस्थामा देखिएको अर्को महत्वपूर्ण सुधार जगेडा कोषमा हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २४ लाख ५८ हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीको जगेडा कोष चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २९ लाख ५८ हजार रुपैयाँ धनात्मक भएको छ। कम्पनीको लगानी भने अघिल्लो वर्षकै अवस्थामा यथावत् रहेको छ।

प्रतिशेयर आम्दानीमा झापा अगाडि

बजार सूचकका आधारमा पियोर इनर्जीको तुलनामा झापा इनर्जीको प्रतिशेयर आम्दानी बढी र मूल्य आम्दानी अनुपात कम रहेको छ। दुवै कम्पनीको प्रतिशेयर नेटवर्थ भने लगभग समान छ।

झापा इनर्जीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८६ पैसा र प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ४१ पैसा रहेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात १५१.८८ गुणा छ। पछिल्लो कारोबारमा कम्पनीको शेयर मूल्य ८९० रुपैयाँ कायम भएको छ। पछिल्लो ५२ सातामा कम्पनीको शेयर मूल्य अधिकतम १ हजार ९२९ रुपैयाँ र न्यूनतम ३८४ रुपैयाँसम्म पुगेको थियो।

त्यस्तै, ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको पियोर इनर्जीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६६ पैसा र प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ५५ पैसा रहेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात २०० गुणा छ। बुधबारको कारोबारअनुसार कम्पनीको अन्तिम शेयर मूल्य ७३२ रुपैयाँ रहेको छ। पछिल्लो ५२ सातामा कम्पनीको शेयर मूल्य अधिकतम १ हजार २६२ रुपैयाँ र न्यूनतम ६६२ रुपैयाँसम्म पुगेको थियो।

प्राविधिक विश्लेषणमा दुवै कम्पनी दबाबमा

प्राविधिक सूचकहरूले दुवै कम्पनीको शेयर मूल्यमा घट्दो प्रवृत्ति कायम रहेको देखाएका छन्। दुवै कम्पनीका ५, २०, ५० र २०० दिनका मुभिङ एभरेज नकारात्मक अवस्थामा छन्।

आरएसआई र एमएसीडी सूचकका आधारमा पनि झापा इनर्जी पियोरको तुलनामा कमजोर देखिएको छ। पियोर इनर्जीको आरएसआई ३९.९६ र एमएसीडी –९.०२ रहेको छ। झापा इनर्जीको आरएसआई २९.८२ र एमएसीडी –२९.१५ रहेको छ।

यसले दुवै कम्पनीको शेयरमा बिक्री दबाब रहेको संकेत गर्छ। विशेषगरी झापा इनर्जीको आरएसआई ३० भन्दा तल रहेकाले प्राविधिक रूपमा ओभरसोल्ड क्षेत्र नजिक रहेको देखिन्छ।

कहाँ छन् दुवै कम्पनीका आयोजना?

पियोर इनर्जीले बाँके जिल्लाको खजुरा गाउँपालिका (साविक रनियापुर गाविस) स्थित २ लाख ९१ हजार ७५७.१३ वर्ग मिटर क्षेत्रफलमा १०–१० मेगावाट क्षमताका दुई सौर्य पीभी विद्युत् आयोजना (ब्लक–१ र ब्लक–२) का मुख्य संरचना निर्माण गरी सञ्चालन गरिरहेको छ।

त्यस्तै, झापा इनर्जीले नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट १० मेगावाट क्षमताको सौर्य विद्युत् आयोजना सञ्चालनका लागि उत्पादन अनुमतिपत्र प्राप्त गरेको छ।

समग्रमा पहिलो त्रैमासिक वित्तीय विवरणले पियोर इनर्जी लगानी विस्तारमा केन्द्रित रहेको र झापा इनर्जी नाफा तथा जगेडा कोष सुधारमा अगाडि देखिएको देखाउँछ। तर, दुवै कम्पनीको विद्युत् बिक्री आम्दानी घट्नु र शेयर बजारका प्राविधिक सूचक कमजोर रहनुले आगामी दिनमा कम्पनीहरूको वित्तीय तथा बजार प्रदर्शन कस्तो रहन्छ भन्ने चासो थपिएको छ।