मुगुमा हिमपहिरो : एक जनाको मृत्यु, दुई जना वेपत्ता
वि.सं.२०८० वैशाख २४ आइतवार १०:२०
shares

काठमाडौं, २४ वैशाख । मुगुको मुगुम कर्मारेङ गाउँपालिका–२ च्यार्खु लेकमा गएको हिमपहिरोमा परी एक जनाको मृत्यु भएको छ भने, दुई जना वेपत्ता भएका छन् ।
जिल्ला प्रशासन कार्यालय मुुगुका अनुसार मृत्यु हुने ३५ वर्षीय पुर्णसिंह सार्की रहेका छन् । वेपत्ता हुनेमा ३५ वर्षीय बिरबहादुर बोहरा र ४० वर्षीय तारासिंह सार्की रहेका छन् । उनीहरु वैशाख २२ गते हिमपहिरोमा परेका हुन् । जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले हिमपहिरोमा परी एकको मृत्यु र अन्य दुई जना वेपत्ता भएको जानकारी दिए ।
उनले भने,‘शुक्रबार च्यार्खु लेकमा हिमपहिरो गयो । घटनामा तीन जना पुरिए । जसमध्ये एक जनाको शव फेला परेको छ । अन्य दुई जना वेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । दैनिक उपभोग्य सामाग्री लिन जाने क्रममा उनीहरु हिमपहिरोमा परेको खुलेको छ । घटनास्थलमा सुरक्षाकर्मी खटिएका छन् ।’
aजिप्रका मुगुका अनुसार उनीहरु यार्सा टिप्न च्यार्खु लेख पुगेका थिए । उनीहरु १५ जनाको समुहमा यार्सा टिप्न लेक पुगेका थिए । जसमध्ये १३ जना सकुशल घर फर्किसकेका छन् ।

















