राजस्व संकलन निराशाजनक, संशोधित लक्ष्य भेटाउन समेत १ खर्ब ६९ करोड रुपैयाँ संकलन गर्नु पर्ने
वि.सं.२०८० जेठ २ मंगलवार १०:३५
shares

काठमाडौं, २ जेठ । पछिल्लो समय राजस्व संकलन निराशाजनक रहेको छ । आन्तरिक राजस्व विभागले पछिल्लो समय निकै कम मात्रै राजस्व संकलन गरिहेको छ । वैशाख महिनामा पनि विभाग गत वर्षको हाराहारीमा राजस्व संकलन गर्न असफल देखिएको हो ।
विभागले चालू आर्थिक वर्षको वैशाख महिनामा गत वर्षको भन्दा ५१ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा जम्मा ३४ अर्ब ४६ करोड राजस्व संकलन गरेको छ । गत वर्षको वैशाखमा विभाले ३५ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।
विभागले चालू आर्थिक वर्षको १० महिनामा ३ खर्ब ७१ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको ७६ प्रतिश हो । विभागले १० महिनाको अवधिमा ४ खर्ब ८९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । गत वर्ष वैशाख मसान्तसम्म विभागले ३ खर्ब ७८ अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।
विभागले चालू आर्थिक वर्षमा ६ खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । वैशाखसम्मको तथ्यांक अनुसार विभागले लक्ष्यको ६० प्रतिशत राजस्व संकलन गरेको छ । बाँकी समयमा लक्ष्य पुरा गर्नका लागि ४० प्रतिशत राजस्व संकलन गर्नु पर्ने हुन्छ । गत आर्थिक वर्ष विभागले ४ खर्ब ८३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।
पछिल्लो समय लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेपछि अर्थमन्त्रायले विभागलाई ५ खर्ब ४० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने संशोधित लक्ष्य दिएको छ । तर, चालू आर्थिक वर्षको अन्त्यसम्ममा गत वर्षबराबर पनि राजस्व संकलन गर्न कठिन भएकाले संशोधित लक्ष्यअनुसार राजस्व संकलन हुने सम्भावना न्यून देखिएको छ ।
चालू आर्थिक वर्षको बाँकी रहेको दुई महिनामा १ खर्ब ६९ अर्ब रुपैयाँ राजस्व संलकन गरेको खण्डमा मात्रै लक्ष्यमा पुग्न सकिने छ । गत वर्षको तथ्यांक हेर्नेहो भने पनि आर्थिक वर्षको अन्तिम २ महिनामा १ खर्ब ५ अर्ब राजस्व संकलन भएको देखिन्छ । चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा पनि सोही अनुपातमा राजस्व संकलन हुने देखिन्छ । यो भनेको विभागले गत वर्षको हाराहारीमै राजस्व संकलन गर्ने देखिन्छ ।


















