Dhulikhel Eco Banner new

माथिल्लो अरूणमा लगानी जुटाउने बारे अर्थमन्त्रालयमा दातृ निकायहरुसँग छलफल

6.1K
shares

काठमाडौं, २५ जेठ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन विभिन्न दातृ निकायका प्रतिनिधिसंग छलफल गरेका छन् । १०६१ मेगावाट क्षमताको अर्ध जलाशययुक्त यो परियोजनामा लगानी जुटाउने विषयमा अर्थमन्त्रीले, विभिन्न दातृ निकायका प्रतिनिधिसंग अर्थ मन्त्रालयमा छलफल गरेका हुन् ।

ओपनिङ र प्राविधिक गरी दुई सेसनमा भएको छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व बैंकले माथिल्लो अरूणमा लगानी गर्न खोज्नु सकारात्मक भएको बताए । हामीले अरूण तेश्रोमा नै विश्व बैंकको लगानी चाहेका थियौं । विश्व बैंक पनि लगानी गर्न तयार थियो, तर विविध कारणले अरूण तेश्रोमा लगानी हुन सकेन मन्त्री महतले भने ‘अहिले माथिल्लो अरूणमा लगानीको विषयमा छलफल हुँदा निकै खुसी लागेको छ ।’

मन्त्री महतले जलाशययुक्त दुधकोशी जलविद्युत परियोजनामा एसिया विकास बैंकले चासो राखेको भन्दै लगानीको प्रक्रिया छिटो अगाडी बढाउन आग्रह गरे उनले भने ‘अहिले पनि नेपालले सुख्खायाममा भारतबाट बिजुली आयात गर्नु परेको छ।’

उनले सरकारले जलाशय युक्त योजना निर्माणलाई प्राथमिकतामा राखेको बताए । ‘ हामीलाई धेरै जलाशय युक्त योजना आवश्यक छ । प्रधानमन्त्रीको भारत भ्रमणले पनि नेपालमा उत्पादिन १० हजार मेगावाट बजार सुनिश्चित गरेको छ। हामी आन्तरिक बजार बढाउँदै पेट्रोलियम पदार्थको उपभोग घटाउने क्रममा रहेका छौं । त्यसैले नेपालमा जलविद्युतको ठूलो सम्भावना छ।’

त्यसैगरी छलफलमा उर्जा मन्त्री शक्ति बस्नेतले नेपालमा जलविद्युत उत्पादन र यसको प्रभावकाबारेमा चर्चा गरेका थिए ।
छलफलमा विश्व बैंक, एसियायी विकास बैंक, जाइका फण्ड, साउदी फण्डका प्रतिनिधिहरुले माथिल्लो अरूण परियोजनामा लगानी गर्न इच्छुक रहेको बताउनुभयो । जर्मनी सरकारका प्रतिनिधिले भने परियोजनामा हुने प्रगतिका आधारमा ट्रान्समिसन लाइनमा लगानी गर्ने आफूहरू इच्छुक रहेको बताए ।

अपर जलविद्युत आयोजनाले गरेको अध्ययन अनुसार परियोजनाको काम सम्पन्न गर्न १ अर्ब ८० करोड अमेरिकी डलर लागत लाग्ने अनुमान गरिएको छ ।त्यसमध्ये ८५ करोड डलर आन्तरिक श्रोतबाट जुटाउने योजना रहेको छ भने आन्तरिक श्रोतबाट करिब ४० करोड डलर लगानी गर्ने गरि विभिन्न संस्थासँग सम्झौता भइसकेको छ ।

परियोजना निर्माणका लागि गर्नु पर्ने पूर्व तयारीका जग्गा अधिग्रहण, रूख कटान लगायतका धेरैजसो कामहरु सम्पन्न भईसकेका छन् । सन् २०२५ जुलाईबाट परियोजना निर्माणको काम सुरू गर्ने गरि काम अगाडि बढिरहेको छ । अब प्रत्येक इच्छुक दातृपक्षसंग वित्तिय योजना र ऋणका शर्त तथा ब्याजदरकाबारेमा आन्तरिक छलफल गर्ने तयारी छ ।