Dhulikhel Eco Banner new

भैसी ब्याएपछि किसानलाई सुत्केरी भत्ता

6.05K
shares

नेपालगञ्ज, ५ भदौ । बाँकेका दुई स्थानीय तहले पशु चौपायाबाट उत्पादनमा वृद्धि गर्न भन्दै पशुपालक किसानलाई सुत्केरी भत्ता दिने भएका छन् ।

जिल्लाको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले ब्याएका (सुत्केरी) गाई र भैँसीको पोषणका लागि उक्त भत्ता दिन लागेका हुन् । बीमा गरिएका पशुका कृषकलाई बैजानाथ गाउँपालिकामा तीन हजार र कोहलपुर नगरपालिकामा दुई हजार सुत्केरी भत्ता प्रदान गरिने ती स्थानीय तहका पशु विकास शाखाले जनाएका छन् ।

‘यो कृषकले असाध्यै मन पराएको कार्यक्रम हो, यसमा आकर्षण बढ्दै गएको छ’, कोहलपुरका पशु सेवा शाखाका अधिकृत गोविन्दबहादुर रोकायले भने । उनले पशु चौपाया सुत्केरी भएपछि पोषण आवश्यक हुने भएकाले उनीहरुलाई पोषणको अभाव हुन नदिन सो कार्यक्रम सुरु हुन लागेको जानकारी दिए ।

रोकाय भन्छन् ‘व्यावसायिक पशुपालन गरेका किसानले बढीमा ५० हजार रुयैयासम्म र साना कृषकले दुई हजारदेखि १० हजार रुपैयाँसम्म गरेका छन् ।’ नगरपालिकाका १५ वडामध्ये सबैभन्दा बढी १३ नं वडामा गाई र भैँसीको सुत्केरी भत्ता लैजाने किसान धेरै छन् ।’ पशु सेवा शाखाको वार्षिक कार्यक्रमअनुसार पशुको लगत लिन नगरपालिकाले सूचनासमेत जारी गरेको छ । कोहलपुरमा विसं २०७५ देखि सो कार्यक्रम सुरु भएको जनाइएको छ ।

रोकायले गत वर्ष पाँच सय ३४ पशु चौपायाका लागि १० लाख छ हजार आठ सय गाई र भैँसीको सुत्केरी भत्तामा खर्च भएको जानकारी दिँदै यस वर्ष चार सय गाई र भैँसीका लागि आठ लाख सुत्केरी भत्ता प्रदान गरिने तयारी भएको बताए ।