Dhulikhel Eco Banner new

एक लाख ८० हजारको जागिर छाडेर खेतीमा रमाउँदै

15.98K
shares

काठमाडौं, ७ असाेज। सात वर्ष इजरायलमा काम गरिन् लजु शेर्पाले । महिनाको १ लाख ८० हजार तलब पाउथिन् । औसत नेपालीको तुलनामा उनको कमाई नराम्रो होइन । काम पनि गा¥हो थिएन । केयर गिभरको रुपमा इजरायल गएकी लजु त्यहाँ रहेका बृद्धहरुको स्यहार सुसार गर्थिन् । काम सजिलो थियो । राम्रो कमाई, सजिलो काम तैपनि उनको मन खुसी थिएन । सात समुन्द्र पारी रहेकी लजुलाई श्रीमान र छोरा छोरीको यादले सताइरहन्थ्यो । इजरायलमै हुँदा उनी सोच्थिन् ‘परिवारका सबै जना एकै ठाउँमा बसेर काम गर्न पाए वास्तवमै रमाइलो हुन्थ्यो ।’

७ वर्ष इजरायल बसेपछि कामबाट छुट्टि पाइन् । उनको आगमनसंगै परिवारमा खुसी छायो । छोरा, छोरी पढ्दै थिए । श्रीमानको कमाइले मात्रै घर खर्च चलाउन गा¥हो थियो । ‘नेपालमै केही गरौं भन्ने चाहना राख्ने लजुले सर सल्लाह गरिन् । नेपालमै बसेर काम गर्ने कुरामा सबैले सहमति जनाए । केही व्यवसायको बारेमा बुझेपछि लज सञ्चालन गर्ने सहमति भयो ।

संखुवासभाबाट इटहरी हुँदै काठमाडौं, इजरायल अनि फेरि काठमाडौं आएकी लजु केयर गिभरबाट ‘लज मालिक्नी’ बनिन् । कमाई राम्रै थियो । परिवारमा खुसी छाउँदै थियो । विश्वभर महामारी बनेर आएको कोरोना संक्रमणको प्रभाव नेपालमा पनि प¥यो । कोरोना नियन्त्रणका लागि भन्दै सरकारले ‘लकडाउन’ गरेपछि विकल्प खोज्न वाध्य भइन् । लकडाउनसंगै बन्द भएको लज फेरि खोलौंला भनेर बसिनन् । विकल्प खोज्न थालिन् । ‘लकडाउनसंगै लज बन्द भएपछि विकल्प खोज्दै जाँदा खेती गर्न आइपुगेँ ।’ उनले भनिन् ।

कृषिमै केही गर्न सकिन्छ कि भनेर सोच्दा सोच्दै साँढे छ रोपनीको रेडीमेड कृषि फर्म भेटिन् । इजरायलमा हुँदा कमाएको १८ लाख रुपैयाँ बाँकी थियो त्यहि पैसाले किनिन् कृषि फर्म । अनि सुरु भयो । कुटो कोदालोसंग दोस्ती ।

गाउँमा छँदा कुटो कोदोलोसंगै रमाएकी लजु राजधानी शहरमा दशकपछि र कुटो कोदालोमै जोडिएकी थिइन् । यस अर्थमा उनी खुसी थिइन् । यहि कृषि फर्मले उनको सिंगो परिवारलाई एकै ठाउँमा बस्ने मेसो मिलाएको थियो । काम गर्न भ्याई नभ्याई हुन थाल्यो । आफुबाहेक अरु ७ जनालाई काम दिइन् । पछिल्लो पाँच वर्षदेखी यहि कृषि फर्ममा काम गरिरहेकी लजु बिहानदेखी बेलुकासम्म फर्ममै बिताउछिन् ।

७० हजार कमाउन गाह्रो छैन

साँढे ६ रोपनी जग्गा भाडामा लिएबापत वार्षिक २ लाख ८ हजार भाडा बुझाउछिन् । औसतमा प्रति महिना ७० हजार भन्दा बढी कमाई हुने उनको अनुभवले बताउँछ । उत्पादन सहज भए पनि बजार प्रभावकारी नभए झै उनलाई लाग्छ । उनको फर्ममा उत्पादन भएको तरकारी चाबहिलमा रहेको तरकारी बजारमा पुग्छ । अहिले तरकारीको भाउ राम्रो भएकाले कमाई राम्रै छ । केही महिना अघि ४० क्यारेट गोलभेडा प्रतिकिलो ६ रुपैयाँको दरले बिक्रि गरेको घटना बिर्सेकी छैनन् । ‘सरकारले बजार ब्यवस्थापन पनि गरिदिने हो भने किसानलाई काम गर्न हौसला मिल्ने थियो । तर, कृषि क्षेत्रमा सरकारको उपस्थिती छैन ।’ उनले भनिन् ।

नेपालमा अवसर प्रसस्तै छ

स्वदेशमा अवसरै पाइएन भन्दै युवा पुस्ता विदेशिएको उनलाई निको लाग्दैन । आफैं ७ वर्ष इजरायलमा बसेर आएकी लजु श्रम र पसिना खर्चिनेहरुका लागि नेपालमा प्रशस्तै सम्भावना देख्छिन् । एक रोपनी जग्गा भाडामा लिएर खेती गर्ने हो भने पनि एउटा परिवारलाई खान पुग्ने कुरा गरिन् । श्रीमान विदेश जाने र श्रीमती छोरा छोरी पढाएर शहरमै बसेको बुझेकी लजु सुझावको भाषामा भन्छिन् ‘एक रोपनी जग्गा भाडामा लिएर खेती गर्नुस्, शहरमा बस्नेलाई खान पुग्छ श्रीमानले विदेशबाट कमाएर पठाएको पैसा बचत हुन्छ ।’ सरकारले नेपाललाई कृषिप्रधान देश भनेर व्याख्या गरे पनि कृषिमैत्री निती अबलम्बन नगरेकोमा उनी दुःखी छिन् । पहाडी क्षेत्रमा खेत बारी बाँझो हुँदै गएकोमा चिन्ता गर्दै उनी भन्छिन् ‘युवा पुस्तालाई स्वदेशमै रोक्ने हो भने कृषिमैत्री निती सरकारले बनाउनै पर्छ ।’

सिवाइसीको साथ

सुरुमा आफैंसंग भएको पैसा लगानी गरेर व्यवसाय सुरु गरेकी लजुका लागि अहिले सिवाइसी लघुवित्तले गज्जबको साथ दिएको छ । लघुवित्तले एकमुष्ठ दिएको रकम लगानी गरेर किस्ताबन्दीमा बुझाउन पाउँदा राहत मिलेको अनुभव गरेकी छिन् ।

सिवाइसीको सामाजिक जिम्मेवारपूर्ण व्यवहारको खुलेर तारिफ गरिन् । उनी भन्दै थिइन् ‘सिवाइसीले एकल महिलालाई त सहयोग गर्छ नै ऋणीको मृत्यु भएकाहरुको पनि ऋण मिनाहसम्मको योजना बनाएको रहेछ ।’

तस्विर : उज्वल पाैडेल