Dhulikhel Eco Banner new

सुनको मूल्यमा नयाँ रेकर्ड

4.28K
shares

काठमाडौं, ३ कात्तिक ।  इजरायल(प्यालेस्टिन द्वन्द्व र अमेरिकी डलरको विनिमय दर थप मजबुत भएका कारण विश्वबजारमा यस साता सुनको मूल्यमा उच्च अङ्कले वृद्धि भएको छ । विश्वव्यापीरुपमा भएको मूल्यवृद्धिको प्रभाव आन्तरिक बजारमा समेत परेको छ ।

नेपाली बजारमा पनि यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम रु ९६ हजार आठ सय ८० रहेको सुनको मूल्य साताको अन्तिम कारोबार भएको दिन आज शुक्रबार प्रति १० ग्राम रु ९९ हजार २५ मा पुगेको छ । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम रु दुई  हजार एक सय ४५ ले बढी हो ।

इजरायल–प्यालेस्टिन द्वन्द्वको प्रभाव र अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिका कारण लगानीकर्ता सुरक्षित लगानीका रुपमा सुनतर्फ आकर्षित भएका कारणले सुनको मूल्य वृद्धिमा चाप परेको बताइएको छ ।

दुई साता अघिसम्म निरन्तर बढेको सुनको मूल्य त्यसयता अमेरिकी डलरको विनिमय दर लगभग स्थिर बन्दै गए पछि केही दिन घटेको थियो । द्वन्द्वका कारण कच्चा तेलको मूल्यमा समेत उतारचढाव आई त्यसको प्रभाव सुनको मूल्यमा समेत पर्नसक्ने विश्लेषकको अनुमान छ ।

यस्तै यस साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो दिन रु एक हजार एक सय ९२ मा कारोबार भएको चाँदीको मूल्य साताको अन्तिम कारोबार भएको दिन आज शुक्रबार प्रति १० ग्राम रु एक  हजार दुई सय पुगेको छ ।