Dhulikhel Eco Banner new

जिन्दगीकाे मज्जा यसरी लिँदैछन् लघुवित्त बैंकर्स संघका पूर्व अध्यक्ष शर्मा

13.81K
shares

काठमाडौं, ८ कात्तिक । बिहान चार बजे उठेपछि हल्का व्यायाम, योगा त्यसपछि सुरु हुन्छ मर्निङ वाक । दैनिक पाँच किलो मिटर हिँडेन भने उनको ज्यान फुर्तिलो हुन्न । उनी अर्थात् लघुवित्त बैंकर्स संघका पूर्व अध्यक्ष प्रकाश राज शर्मालाई अहिले आफ्नै जीवनशैलि अनौठो लाग्छ । ‘जागिर खाँदाको तुलनामा अहिले निकै फरक अनुभुति भैरहेको छ ।’ उनले भने ।

बिहान साँढे पाँचसम्म व्यायाम र योग सकाउने शर्मा त्यसपछि मर्निङ वाकमा निस्कन्छन् । मर्निङवाकबाट फर्किएपछि भने उनको समय एन्ड्रोइड मोबाइलले लिन्छ । समाचार पढ्नेदेखि सामाजिक सञ्जालमा डुल्ने काम गर्छन् ।

लघुवित्त क्षेत्रमा काबिल सिइओको छबि बनाएका शर्मा रिटायर्ड भएको छ महिना हुँदैछ । छ महिनासम्म म केही पनि गर्दिन भनेका शर्माले बोलेको कुरा पुरा गरे । केही संस्थाबाट कामका लागि अफर आएको थियो । ‘छ महिना केही नगर्ने’ योजना अनुसार नै काम नगर्ने प्रतिक्रिया जनाए । उनलाई कर पनि गरेनन् ।

कत्तिकको पहिलो हप्ता रिटायर्ड भएको छ महिना पुग्दैछ । ‘के गर्ने भन्नेमा अब सोच्नु पर्ला ।’ नयाँ योजना बनाउनै बाँकी रहेको कुरा गरे ।

खुसीको जीवन

वास्तवमै खुसी छ शर्माको जिन्दगी ‘अहिले त रिल्याक्स गरिरहेको छु । धार्मिक सामाजिक गतिविधीमा सक्रिय छु ।’ अहिलेको जीवनशैलीबारे भने । धर्म कर्मको अतिरिक्त घरायसी काममा समेत सक्रिय शर्माले लेखनका केही अधुरा काम पुरा गर्ने योजना अघि बढाएका छन् । आफन्त एवं नातेदारसँग भेटघाट एवं भलाकुसारी गर्दा अर्को आनन्द प्राप्त हुने बताए ।

जागिरे जीवनमा समय एकदमै थोरै भए जस्तो लाग्थ्यो । धार्मिक यात्रा र नातेदार भेटघाट वर्षमा एक पटक मात्रै गर्थे । ‘अहिले कस्तो मज्जा दिनदिनै भेट्न सम्भव छ ।’ रिटायर्ड जीवनको रमाइलो सुनाए ।

लघुवित्तमा फर्किने सम्भावना जिवितै

आफुले जानेको ज्ञान सिप बाँड्नु पर्छ भन्ने लागेको छ उनलाई । फेरि लघुवित्तमा फर्किने सम्भावना कत्तिको होला ? केटिएम भ्वाइसले सोधेको प्रश्नको मुस्कुराउदै जवाफ दिए ‘लघुवित्तमा फर्किने सम्भावना नकार्न सकिँदैन । शारीरिक मानसिक रुपमा तन्दुरुस्त हुँदासम्म काम गर्छु ।’

अरु पनि सेलेक्टिभ अवसर आयो भने चुनौती स्वीकारेर अघि बढ्ने योजनामा रहेका शर्मा अहिले दुइटा किताब पढ्दैछन् ।

दशैं छैन, दाङ जान्छु

काकाको छोरा भाईको निधन भएकाले यसपालि उनको परिवारमा दशैं छैन । भाईको १३ दिनको काम सकेपछि दाङ जाने योजना सुनाउँदै भने ‘आमा हुनुहुन्छ । आमासँगै गाउँको माटोमा रमाउँछु ।’ गाउँमा पुगेपछि उनको पूर्व सिइओको छबि देखिँदैन । पक्का गाउँले बनेर माटोसँगै रमाउन थाल्छन् ।