‘केही गरौं भन्दा भन्दै थाकेँ, फेरि विदेश जान्छु’
वि.सं.२०८० कात्तिक १४ मंगलवार १६:०५
shares

काठमाडौं, १४ कात्तिक । भालेको डाँकसंगै सुरु हुन्छ उनको दैनिकी । छोरा छोरी स्कुल कलेज जाने भएकाले यसो गर त्यसो गर भनेर भनिरहनु पर्दैन । बिहान एक कप कालो चिया खाएपछि गाडीको स्टेरिङ समाउन पुग्ने उनका हात साँझ नौ बजेसम्म स्टेरिङ सँगै रमाउँछ ।
सुन्धारा–थानकोट रुटमा चार वर्षदेखी गाडी चलाउँदै आएका सन्तोष तामाङ आफ्नो कामप्रति खासै सन्तुष्ट छैनन् । ‘विदेशबाट फर्केर आएपछि केही हुन्छ कि भनेर गाडी किनेर चलाएँ । आफैंलाई चित्त बुझेको छैन । अब फेरी विदेशै जान्छु ।’ तामाङले भने ।
चार वर्ष अघि साँढे नौ लाख तिरेर गाडी किनेका तामाङ आफ्नो गाडी आफैं चलाउँछन् । सहचालक राखेका छैनन् । तैपनि खर्च धान्न मुस्किल छ । ‘सबै काम आफैंले गर्दा त खर्च धान्न मुस्किल छ । स्टाफ राखेर त सम्भवै हुन्न ।’ गाडीमा अन्य स्टाफ नराख्नुको कारण भने । एक जना सहचालक राख्दा दैनिक कम्तिमा एक हजार भत्ता, खाना, खाजा खुवाउँदा दैनिक एक हजार पाँचसय बढी खर्च हुने सुनाए ।
सार्वजनिक सवारीमा सरकारको उपस्थिती छैन
आफैं सवारी चालक र सावरी धनी भए पनि काठमाडौंमा गुड्ने सवारी साधनमा बेथितीको चाङ रहेको अनुभव गरेका तामाङ भन्छन् ‘हाम्रोमा सिष्टम भन्ने कुरा छँदै छैन जे मन लाग्यो त्यही गर्न पाइन्छ ।’ जथाभावी हुइक्याउने मात्रै हैन कुनै पनि दुर्घटनामा ठूलो सवारी साधनको गल्ति मान्ने प्रवृत्ति पनि ठिक लाग्दैन उनलाई ‘दुर्घटना भन्ने कुरा कसैले पनि चाहेर हुने होइन तर, हाम्रोमा दुर्घटनाका कारण जेसुकै भए पनि ठूला सवारी साधन र चालकलाई दोष दिने चलन छ । त्यो ठिक होइन ।’ उनले भने ।
सार्वजनिक सवारी साधनमा सरकारको उपस्थिती शून्य देखेका तामाङ सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्ने हो भने सडक यात्रा सहज हुने सम्भावना देख्छन् । ‘यदि सरकारी गाडी व्यवस्थित गर्ने हो भने मान्छेहरुले साना गाडी किन्दैनन् सडक व्यवस्थित हुन्छ ।’ उनले भने ।
लामो दुरीमा पनि सरकारी सवारी चलाउन सुझाव दिँदै भन्छन् ‘लामा, छोटा सबै दुरीका सवारी साधनमा सरकारको उपस्थिती हुनुपर्छ सवारी व्यवस्थित हुन्छ ।’ सरकारको उपस्थिती कमजोर भएकै कारण अहिले पनि सडकमा २० वर्ष पुराना गाडी गुडेको देखेका छन् उनले ।
राम्रोसंग मर्मत गयो भने खर्च उठ्दैन
नेपालमा सवारी दुर्घटनाको एउटा कारण कमजोर सवारी साधन पनि हो भन्ने लाग्छ उनलाई । निजी स्तरमा किनिएका धेरै पुराना गाडीहरु छन् । जुन गाडीलाई पूर्ण रुपमा मर्मत गर्न खर्चले धान्दैन । हल्का मर्मत गर्छन र चलाउँछन् ।
दुर्घटना भैहालेमा सवारी चालकलाई दोष दिने प्रवृत्ति भएकाले पनि यो स्थिती आएको हो भन्ने लाग्छ उनलाई ।
फेरि विदेश जान्छु
केही वर्ष विदेश बसेर कमाएको पैसाले आफैं सवारी साधन किनेर यहि मुलुकमा केही गरौं भनेर बसेका तामाङलाई अहिले लाग्न थालेको छ ‘अब यहि देशमा बसेर केही पनि हुन्न ।’ अहिले चलाइरहेको गाडी बिक्री गरेर विदेश जाने योजना सुनाउँदै भन्छन् ‘विदेश गयो भने कमाएको पैसा बचाउँन सकिन्छ ।’
छोरा छोरीले राम्रै पढे पनि उनीहरुको पनि यो मुलुकमा भविष्य सुरक्षित छ भन्ने लाग्दैन उनलाई ‘जति पढे पनि के काम ? सोर्स फोर्स नभई जागिर खान पाइदैन । कम्तिमा विदेश गयो भने आफ्नो क्षमता अनुसारको काम पाइन्छ ।’ उनले भने ।



















