Dhulikhel Eco Banner new

किन बढ्यो शेयर बजार ? अब कहिलेसम्म बढ्छ ?

7.22K
shares

काठमाडौैं, २४ मंसिर । करिब २ वर्षपछि शेयर बजार आइतबार उछाल देखियो । शुक्रबार मात्रै शेयर र घरजग्गा धितोमा लचक बन्दै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गरेको थियो । सबै लगानीकर्ता अबको शेयर बजार खुल्दा बजारको अवस्था कस्तो हुने हो भन्नेमा थिए । अन्ततः आइतबार बढेको शेयर बजारले लगानीकर्तामा भएको निराश अलिक कम भएको छ ।

मौद्रिक नीतिको समीक्षामार्फत केन्द्रीय बैंकले शेयर र घरजग्गा धितो सम्बन्धी विद्यमान व्यवस्थामा लचकता देखाएसँगै शेयर बजारमा उछाल आएको छ । यति हुँदाहुँदै पनि कतिपय लगानीकर्ताले १११ अंकले नेप्से बढ्दैमा खुशी भइहाल्न नहुने बताएका छन् ।

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल नेपाल राष्ट्र बैंकले शेयर बजारका लगानीकर्ताका लागि लगानीमैत्री नीति लिएकोले अब शेयर बजार अगाडि बढ्ने बताउछिन् । लगानीकर्ता निकै निराश भएको अवस्थामा केन्द्रीय बैंकले लिएको नीतिले थोरै भएपनि आशाको दियो जगाएको उनको बुझाइ छ ।

‘अब आउने मौद्रिक नीतिमा अझ राम्रो होला भनेर अहिलेको बजारलाई लगानीकर्ता उत्सुक हुँदै बजारलाई स्वागत गरेका छन्’ केटीएम भ्वाससँगको कुराकानीमा उनले भनिन्, ‘बजारको लागि चाहिने भनेको पोलिसि नै हो, त्यसैले पोलिसि राम्रो बन्दै गए बजार राम्रो हुन्छ ।’ उनले सधै आइतबारको जस्तै सर्किट मात्रै लगानीकर्ताले खोज्न नहुँने बताइन् ।

आजको सर्किट अस्ति मात्रै आएको समिक्षाको सर्किट भएको बताउँदै उनले बजार अब राम्रै बाटोमा जान्छ भन्ने बुझिएको बताएकी छिन् । केन्द्रीय बैंकले शेयर धितोमा जाने ठूला कर्जाको जोखिमभार घटाएको छ । ५० लाखभन्दा बढी सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशत कायम गरिएको छ । यसअघि यस्तो जोखिमभभार १५० प्रतिशत थियो ।

५० लाख मुनिको शेयर धितो कर्जाको जोखिमभार भने १०० प्रतिशत कायम छ । शेयर धितो कर्जामा जोखिम भार घटाएर शेयर बजारलाई चलायमान बनाउने लक्ष्य मौद्रिक नीतिको समीक्षाले लिएको छ ।

तत्कालिन सयमा लगातार ओरालो लागेको शेयर बजार कात्तिक १० गते ४७ अंकले बढेको थियो । त्यो समयमा सबै (साना तथा ठुला) लगानीकर्ता निकै उत्साहित भए । तर लगानीकर्ताको त्यो खुशी एक दिन पुरा पनि टिक्नै सकेन । कात्तिक १० गते आइतबार ४७ अंकको सुधार आएको शेयर बजार सोमबार अर्थात् कात्तिक ११ गते पुनः ओरालो लाग्यो । शेयर बजार आज १११ अंकको सुधार आएको छ । भोलि नघट्ला भन्ने आधार के छ भन्ने प्रश्नमा अध्ययक्ष पोखरेल भन्छिन्, ‘आज धेरै शेयर किनबेच नभएकाले भोलि नै त्यसरी घट्ने सम्भावना छ्रैन ।’

शेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्नु, शेयरको मूल्य बढ्नु र सर्किट लागेर थोरै कारोबारमा नै शेयर कारोबार दिनभरिको लागि बन्द हुनु शेयर बजारको सकारात्मक कुरा हो । अर्का शेयर लगानीकर्ता नयन बास्तोला पनि आजबाट शेयर बजारको ओरालो यात्रा रोकिएको बताउँछन् । उनका अनुसार आज शेयर बजार बढ्नुको सबैभन्दा प्रमुख कारण राष्ट्र बैंकले शेयर ऋणलाई दिएको सहजता र २ वटा बैंकले घटाएको ब्याजदर हो ।

पछिल्लो समय धेरै राम्रा कम्पनीको शेयर पनि सस्तो मूल्य उपल्ब्ध छन् । आजको अजस्थाले शेयर बजारमा लगानी गर्ने वातावरण बनेको संकेत गरेको अर्का लगानीकर्ता तिलक कोइरालाको भनाइ छ । कोइरालाले राष्ट्र बैंकले शेयर धितो कर्जाको जोखिमभार घटाउने र ब्याजदर सस्तो बनाउने कदम चालेकोले शेयर बजारमा यस्तो प्रभाव परेको उनको बुझाइ छ ।

‘अब राम्रा राम्रा कम्पनीमा लगानी गर्नुपर्दछ’ उनले भने, ‘अब अहिलेको शेयर बजारले दिएको सन्देलाई ग्रहण गरेर अगाडि बढ्ने लगानीकर्ताहरुले राम्रै सफलता हाँसिल गर्न सक्छन् ।’