Dhulikhel Eco Banner new

धरान–इटहरी सडक कालोपत्र थालियो

3.26K
shares

धरान, ८ चैत । कोशी राजमार्गको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाअन्तर्गत इटहरी–धरान सडकमा पर्ने सेउती–पानीपिया खण्डमा कालोपत्र गर्न थालिएको छ । लामो समयदेखि सडक निर्माण कार्य सुस्त बन्दा चौतर्फी आलोचना भइरहेका बेला ‘हिमदुङ थोकर एन्ड प्यासिफिक जेभी’ले सडक कालोपत्र गर्न थालेको हो ।

कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले चार लेन सडकमध्ये दुई लेन कालोपत्र भइरहेको बताए । बस्नेतले भने, “नियमित निगरानीपछि कालोपत्र सुरु भएको छ । बाँकी भागमा पनि कालोपत्र गर्ने काम चाँडै सकिन्छ ।”

धरान–इटहरी खण्डको अन्य सडक बनिसके पनि सेउतीपुलदेखि तरहरास्थित पानीपियासम्मको ५.३ किमी सडक निर्माणमा ढिलाइ हुँदा यात्रु कष्टकर यात्रा गर्न बाध्य छन् । उक्त सडक अस्तव्यस्त हुँदा शारीरिक कष्टसँगै धुलो धुवाँको प्रदूषण भोग्नुपरेको भन्दै हालै अधिवक्ता रविन्द्रकुमार भगतले उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गरेका थियो ।

उक्त रिटको सुनुवाइ गर्दै यही चैत ५ गते उच्च अदालत विराटनगरका न्यायाधीश राजेन्द्र अधिकारीको एकल इजलासले १५ दिनभित्र कारणसहित छलफलका लागि उपस्थित हुन आदेश जारी गरेको छ ।

उक्त सडकखण्ड भत्काएर समयमा निर्माण नगर्दा सवारीसाधन दुर्घटना बढिरहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको तथ्याङ्कअनुसार उक्त सडकमा दुर्घटनामा परेर तीन वर्षयता १० जनाको ज्यान गइसकेको छ । आर्थिक वर्ष २०७८÷७९ मा उक्त सडकखण्डमा ५३ वटा दुर्घटनामा भएकामा ६ जनाको ज्यान गएको थियो ।

दुर्घटनामा ८८ जना घाइते भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७९÷८० मा भएका २३ दुर्घटनामा तीन जनाको ज्यान गएको थियो भने ४३ जना घाइते भएका थिए । चालु आर्थिक वर्ष २०८०÷८१ को हालसम्म ६ वटा दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

विसं २०७७ असार मसान्तदेखि २०८० असार मसान्तभित्र काम सक्ने गरी उक्त सडकखण्ड निर्माणको ठेक्का पाएको हिमदुङ थोकर एन्ड प्यासिफिक जेभीले तोकिएको समयमा काम सम्पन्न गर्न सकेको छैन । सम्झौता सकिएपछि म्याद थप्ने प्रक्रिया चलिरहेको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजना इटहरीका इञ्जिनियर अस्मिता सुवेदीले बताईन् । बाँकी काम चाँडै सकिने उनको भनाइ छ ।