Dhulikhel Eco Banner new

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो

4.93K
shares

काठमाण्डौं ७ वैशाख । हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक उपभोग्य सामग्रीको नयाँ मूल्य निर्धारण गरेको छ । सङ्घले निर्धारण गरेको अधिकांश सामानको रु पाँचदेखि ५० सम्म मूल्य घटेको छ भने खसीको मासुको मूल्य एक सय बढीले घटेको जनाइएको छ ।

सिमकोट बजारमा दैनिक उपभोग्य हुने सामानको हुम्ला उद्योग वाणिज्य सङ्घले गरेको मूल्य निर्धारण गरेसँगै सम्पूर्ण व्यवसायीलाई मूल्य सूची वितरण गरिएको छ । सङ्घले वितरण गरेअनुसार नै मूल्य कार्यान्वयन गरिएको व्यवसायी बताउँछन् ।

सिमकोट बजारमा थोक व्यवसाय गर्दै आएका व्यवसायीले खुद्रा सामान बिक्री नगर्ने निर्णय गरिएको सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले बताए । उनका अनुसार मासु जन्यपदार्थको वितरण तथा खुद्रा मूल्यसमेत निर्धारण गरिएको हो । व्यवसायीलाई दैनिक उपभोग्य वस्तुको मूल्य सूची बनाएर वितरण गरिएसँगै एकरुपता आउने विश्वास लिइएको भण्डारीले बताएका छन् ।

वोइलर कुखुराको मासु, माछा र वँगुरको मासु प्रतिकेजी रु सात सय, अण्डाप्रति गोटा ३०, प्रतिक्यारेट सात सय ५० र रागाँको मासु प्रतिकेजी सात सय ५० निर्धारण गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए । जिउँदो खसीको प्रतिकेजी र छ सय ५०, खसीको मासु मिक्स प्रतिकेजी एक हजार र खसीको नेट मासुको रु एक हजार एक सय निर्धारण गरिएको छ ।

दैनिक उपभोग्य वस्तुमा धारा तेल तीन सय ७०, सन फलावर तीन सय सय, स्वास्तिक प्रतिलिटर दुई सय ८०, डाल्टा घ्यू दुई सय ८०, चिनी प्रतिकेजी एक सय ७०, चिउरा प्रतिकेजी दुई सय मूल्य तोकिएको छ ।

अन्य उपभोग्य वस्तुमा पनि मूल्य निर्धारण गरिएको भन्दै अधिकांश वस्तुको मुल्य घटेको उनले बताए । मूल्य सूचीमा कायम भएअनुसार नै व्यापारीले सामग्री विक्रिवितरण गरेमा बजारमा एकरुपता कायम आउने उनको भनाइ छ ।