Dhulikhel Eco Banner new

मनमैजुमा अजिमा जात्रा सुरु

4.54K
shares

काठमाडौं, १० वैशाख ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व बोकेको तारकेश्वर नगरपालिकाको प्राचीन नेवार बस्ती मनमैजुमा आजदेखि अजिमा जात्रा सुरु भएको छ ।

जात्राको पहिलो दिन आज तारकेश्वर महादेवको जङ्गलमा रहेको सल्लाको रुखलाई विधिपूर्वक पूजा गरी काटेर ल्याई लिङ्गोका रूपमा मन्दिर अगाडि ठड्याएर अजिमाको जात्रा सुरु गरिएको हो । धर्मस्थली जात्रा सकिएलगत्तै चैत्र शुक्ल चतुर्दशीका दिन लिङ्गो ठड्याएर आज विधिवत रूपमा जात्रा सुरु गरिएको नेवाःगुठी मनमैजुका गुठीयार भक्तमान महर्जनले जानकारी दिए।

५दिनसम्म चल्ने मनमैजु जात्रामा मनमैजु अजिमालाई खटमा विराजमान गराई टोलटोलमा लगेर स्थानीयले पूजा गर्ने चलन छ । ५ दिनमध्ये ३ दिन खटजात्रा, एक दिन मनमैजु देवीको मन्दिरमा पूजाआजा र एक दिन भजनकीर्तन गरी मनाइने महर्जनले बताए ।

जात्राको पाँचौँ दिन अर्थात् वैशाख १४ गते लिङ्गो ढालेर जात्रा समाप्त गरी देवीलाई विधिवत पूजा गर्ने चलन छ । मनमैजुको जात्रा बालाजु बाइसधाराको जात्रासँग पनि अन्तर सम्बन्धित रहेको छ । बालाजुको बाइसधारामा स्नान गरेर मनमैजु देवीको दर्शन गरेमा आफूले चिताएको कुरा पुग्छ भन्ने धार्मिक जनविश्वास रहेको छ ।

महर्जनका अनुसार फुसिंख्यःमनमैजु जात्रामा अजिमा स्वयं धामीको रूपमा प्रकट भई जात्रामा सरिक हुने परम्परा हजारौँ वर्षअघिदेखि चल्दै आइरहेको छ । अजिमा धामी हुनेले जामालगाई अजिमा द्यःको पात्र समाति पूजा थाप्दै रथ अगाडि हिँड्छन् । अजिमा द्यः धामी हुनेलाई अजिमाको शक्ति आफैँ जागेर आउने गरेको स्थानीय बताउँछन् ।

मनमैजु देवीको नामबाटै यस गाउँको नाम मनमैजु रहन गएको उल्लेख रहेको पाइन्छ । उक्त जात्रा ऐतिहासिक लिच्छवी राजा गुण कामदेवको पालादेखि इन्द्रायणी देवीका रूपमा मानिएको मैजु माईको सम्झनामा सुरु गरिएको हो । मनमैजु जात्राका लागि तारकेश्वर नगरपालिकाले समेत सहयोग गरेको छ । नगरप्रमुख कृष्णहरि महर्जनले जात्रा व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्री नगरपालिकाले सहयोग गरेको बताए ।