Dhulikhel Eco Banner new

राष्ट्र बैंककी डेपुटी गभर्नरले बस्ने कुर्सी नै नपाएपछि…

9.26K
shares

काठमाडौं, १६ वैशाख । काठमाडौंमा अहिले लगानी सम्मेलन चलिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मेलनको आइतबार विहान उद्घाटन गरेका छन् । सम्मेलनको उद्घानमा एउटा अनौठौ दृश्य पनि देखियो । उद्घाटन शत्रमा सहभागी हुन पुगेकी राष्ट्र बैंककी वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिमल्सिनाले सहभागी बस्ने ठाउँमा समेत बस्न पाइनन् ।

८ः०० बजेदेखि रजिष्ट्रेशन शुरु हुने भनिएको कार्यक्रम ९ः३० बजे उद्घाटन  हुने सेड्युल थियो । वरिष्ठ डेपुटी गभर्नर ढुंगाना कार्यक्रम शुरु हुनु भन्दा २० मिनेट अगाडि अर्थात ९ बजेर १० मिनेट जादा नै होटल सोल्टी पुगिसकेकी थिइन् ।

कार्यक्रम हलमा उनी पस्दा विभिन्न क्षेत्रका व्यक्तिहरुको निकै ठूलो संख्यामा उपस्थिति देखिन्थ्यो । हल खचाखच थियो । ९ बजेर ३० मिनेट जानु भन्दा केही मिनेट अघि प्रधानमन्त्री प्रचण्ड पनि कार्यक्रम स्थलमा पुगे । प्रधानमन्त्री प्रवेश गर्दा नगर्दै बाहिर रहेका ठूलो संख्यामा अरु मान्छेहरु पनि पसे ।

केन्द्रीय बैंकको प्रमुख÷उपप्रमुखका लागि भनेर सिट प्लान भने गरिएको थिएन । डेपुटी गभर्नर ढुंगाना अलमलमा परिन् । छेउँमा बस्ने कुनै कुर्सी खाली थिएनन् । कतै कुर्सी खाली छ कि भनेर उनले निकैबेर हेरेपनि भेटिनन् । अन्नतः उनी उभिएरै कार्यक्रममा सहभागिता जनाइन् । उद्घाटन समारोहमा अर्थमन्त्री वर्षमान पुनले भाषण गर्दासम्म उनी हलभित्रै उभिइरहिन् । अर्थमन्त्रीको भाषण सकिएपछि भने उनी बाहिर निस्किइन् ।

‘एउटा तिलको दाना अट्ने पनि ठाउँ थिएन, निकै मुश्किलले अर्थमन्त्रीज्यूको कुरा उभिएरै भएपनि सुने’ होटल सोल्टीको हलबाहिर भेटीएकी उनले भनिन् । बाहिर पनि उनले धेरैबेर उभिनु पर्यो । गाडि लिएर आउन चालकलाई भनेपनि पार्किङ समस्याका कारण डेपुटी गभर्नरको गाडि आउन निकै समय लाग्यो । त्यतिञ्जेलसम्म लामो समय सोल्टी होटलको हल प्रवेशद्वारामा उभिएरै र केहीबेर लविको कुर्सीमा बसेर उनले गाडि कुरेकी थिइन् ।

डेपुटी गभर्नरसँगै हलभित्र कुर्सी नपाउनेमा प्रधानमन्त्री कार्यालयमा कार्यरत नेपाल सरकारका सचिव गणेश पाण्डे पनि थिए । सचिव पाण्डे र ढुंगानासहित धेरै भिआईपीहरुले कुर्सी पाएनन् । आयोजकको केही कमजोरीका कारण सम्मेलनमा सहभागी हुने धेरै सास्ती खेप्नु परेको छ ।