Dhulikhel Eco Banner new

मकै पोलेर जीविका चलाउँदै सुकुम्बासी शिविरका महिला

4.07K
shares

काठमाडौं , २८ वैशाख । कैलालीको टीकापुर नगरपालिका–१ स्थिति शक्तिनगर शिविरकी सुकदेवी चौधरी हप्तामा चार दिन कृषि हाटबजारमा मकै पोलेर बेच्छिन् । दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकी सुकदेवीले एक महिनादेखि मकै पोलेर बेच्न थालेकि हुन् ।

दैनिक मजदुरी गर्दा हुने भन्दा राम्रो कमाइ मकै बेचेर हुन थालेपछि उनले मकै पोल्न थालेकि हुन् । “दिनभर मजदुरी गर्दा छ सय कमाइ हुन्थ्यो भने मकै बेचेर दिनको एक हजारसम्म गरेको छु”, उनले भने, “काम नगरे घरको गुजारा हुँदैन । अरुको काम गर्नुभन्दा आफ्नै काम गर्नुमा सन्तुष्टि छ ।”

सोही शिविरमा बस्ने जितरानी चौधरी पनि हिजोआज मकै पोलेर बेच्ने काममा व्यस्त छिन् । १४ रुपैयाँमा मकै खरिद गरेर २५ रुपैयाँमा उनले बिक्री गर्छिन् । हाटबजारका दिन हाटबजारमा र अरु दिन बजारको चौराहमा पोलेको मकै बेचेर उनले छोराछोरीका लागि किताब कापी र पोशाक किनेको बताईन्।

“मकै बेचेर दिनमा पाँच सयदेखि एक हजारसम्म बचत गरेकी छु । त्यसबाट केही रकम घर खर्चका लागि छुट्याउनुपर्छ”, उनले भने, “बालबालिकाको पढाइ खर्च पनि मकैबाट आम्दानी हुने आम्दानीले धानेकी छु । मकै बेचेर घरको जोहो चलाउन सकिने स्थिति बनेको छ ।”

सुकदेवी र जितरानी मात्रै होइनन् । सुकुम्बासी शिविरका केही महिला दैनिक ज्यालादारी छाडेर मकै पोल्ने र बेच्ने काममा लागेका छन् ।

पछिल्लो समय सिँचाइको सुविधा भएपछि किसान मकै खेतीमा आकर्षित बनेका छन् । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले मकैखेती विस्तारमा सहयोग गरेको छ । कार्यान्वयन इकाइले खाद्यान्न बालीअन्तर्गत मकैमा ६७ कृषक तथा समूहलाई मकै खेती विस्तारमा अनुदान दिएको छ । उनीहरुलाई १२ हेक्टर क्षेत्रफलमा बिज वृद्धि कार्यक्रम सञ्चालन गरिएको आयोजनाका सूचना अधिकारी आकृति ठाकुरले जानकारी दिए।

किसानको मागका आधारमा मकै खेती विस्तारको काम बर्षेनि बढ्दै गएको कार्यान्वयन इकाइका आयोजना प्रमुख भरत कँडेलले जानकारी दिए । “विगतमा किसान मकैखेती थोरै गथे । अहिले गहुँ खेती भित्र्याएपछि मकै खेती गर्ने गरेका छन्”, उनले भने, “वर्षमा तीन पटक खेती गर्न थालेका छौ ।”