Dhulikhel Eco Banner new

पहुँचका आधारमा बजेट विनियोजन हुनुहुँदैनः सांसद शर्मा

3.87K
shares

काठमाडौं, २८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का सांसद मायाप्रसाद शर्माले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी हुनुपर्नेमा जोड दिएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै उनले बजेट पहुँचका आधारमा नभई आवश्यकतालाई हेरेर विनियोजन हुनुपर्ने बताए । “विगतमा पहुँचका आधारमा बजेट विनियोजन हुन्छ भन्ने धारणा छ, आगामी आवको बजेटमा त्यस्तो संकेत नदेखियोस्”, सांसद शर्माले भने, “कार्यान्वयनमुखी आयोजनालाई प्राथमिकता दिनुपर्छ ।
राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्नेगरी बजेट बनाइनुपर्छ । राष्ट्रिय तथा क्षेत्रगत नीतिसँग पनि सम्बन्धित भएकाले बजेट पहुँच र शक्तिका आधारमा विनियोजन गरिनुहुन्न ।”

स्वास्थ्य, शिक्षा, रोजगारी, आवास, सुरक्षा तथा सामाजिक सेवामा बजेट केन्द्रित गरिनुपर्छ भन्दै उनले संविधान अनुरुप समावेशी, सङ्घीयता, लोकतानित्रक शासन व्यवस्थाको सुदृढीकरणका लागि बजेटलाई केन्द्रित गरिनुपर्नेमा जोड दिए । भ्रष्टाचार नियन्त्रण र राज्यका हरेक निकायमा सुशासन प्रवर्द्धन गर्नेगरी आगामी आवको नीति तथा कार्यक्रम हुनुपर्ने उनको भनाइ छ ।

सरकारले बजेट र नीति कार्यक्रमबारे समयमै छलफलको थालनी गर्नु सकारात्मक पक्षको सुरुवात भएको भएको उल्लेख गर्दै उनले मुुलुकमा लगानी सम्मेलन सम्पन्न, राजश्व संकलन प्रभावकारी भइरहेकाले अर्थतन्त्रलाई सवल बनाउन मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

सांसद शर्माले राष्ट्रियसभा मेलमिलाप र सहकार्यको थलोका रुपमा स्थापित भएको भन्दै यसलाई सोही अनुरुप निरन्तरता दिइनुपर्ने खाँचो औंल्याए । उनले राष्ट्रियसभालाई फरक ढङ्गले परिचालयन गर्न सबै नेताहरु गम्भीर भएर लाग्नुपर्ने खाँचो औंल्याए । संक्रमणकालीन न्याय व्यक्तिको विषय मात्र नभई राष्ट्रको साझा मद्धा भएकाले यसलाई निचोडमा पुर्याउन जरुरी भएको उल्लेख गरे ।