Dhulikhel Eco Banner new

११ महिनामा दुई खर्ब १७ अर्ब लगानी प्रस्ताव

3.46K
shares

काठमाडौं, १९ असार । नेपालमा चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा दुई खर्ब सत्र अर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार यस अवधिमा कुल ३८३ वटा उद्योग दर्ता भएका छन् । ती उद्योगमा २ खर्ब १७ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार जेठ महिनामा मात्र ३७ अर्ब २० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

वैदेशिक लगानीतर्फ यस वर्ष कुल ३५५ लगानीको प्रस्ताव स्वीकृत भएको छ । यस वर्ष कुल ३८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रने अनुमान सरकारले गरेको थियो । यस अवधिमा ४४ अर्ब ३४ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

स्वीकृत भएको लगानी र दर्ता भएका कम्पनीले २६ हजार २७ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । वैदेशिक लगानी प्रतिबद्धतातर्फ दर्ता भएका उद्योगले १७ हजार ६४२ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको विभागको तथ्यांक छ ।

११ महिनाको अवधिमा २ वटा प्याटेन्ट दर्ता, डिजाइन दर्ता ११ वटा र ट्रेडमार्क दर्ता ५ हजार ४९४ वटा रहेको विभागको तथ्यांकमा उल्लेख छ भने प्रारम्भिक वातावरणीय परीक्षण संख्या ४५ रहेको छ ।