दुई दिने बिदाबाट सरकार पछि हट्यो, अब आइतबार बिदा नहुने
वि.सं.२०७९ जेठ २३ सोमवार १९:२५
shares

काठमाडौं, २३ जेठ । अब हप्ताको दुई दिने बिदा नहुने भएको छ । सरकारले असार १ गतेदेखि लागू हुने गरेर आइतबारको बिदा कटौती गर्ने निर्णय गरेको हो ।
सरकारले जेठ १ गतेदेखि इन्धनको खपत घटाउने भन्दै हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । दुई दिने बिदाले कुनै पनि लाभ नमिलेको भन्दै यसलाई हटाउनका लागि सरोकारवालाले आग्रह गर्दै आएका थिए ।
हप्ताको दुई दिनको बिदाले कुनै पनि उपलब्धी हासिल नगरेको र यो पहिलै पनि असफल भइसकेको भन्दै यो व्यवस्था खारेज नै गर्नु पर्ने अर्थविद डा. चन्द्रमणी अधिकारीले बताएका छन् । बिदाको समयमा घरमा नै बसेको छ र बाहिर गएको छैन भन्ने आधार के छ ? झन घुम्नजाने गरेकाले इन्धन खपतमा कुनै पनि कमी नआउने उनको भनाई छ ।
यस्तै नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले पनि दुई दिनको बिदा खारेज नै गर्न आग्रह गरेको थियो । महासंघको ५ औँ साधारण सभामा यस्तो आग्रह गरेको थियो ।















