‘अर्थतन्त्रमा देखिएका समस्या सबै मिलेर समाधान गरौँ’
वि.सं.२०७९ जेठ २३ सोमवार १९:५५
shares

काठमाडौं, २३ जेठ । नेपालको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सबै मिलेर अगाडि बढ्नु पर्ने राजस्व सचिब कृष्णहरि पुष्करले बताएका छन् । सोमबार राजस्व परामर्श समितिले आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व नीति तथा कर सुधार सम्बन्धी अन्तक्रिया कार्यक्रममा बोल्दै राजश्व सचिव पुष्करले सबै मिलेर देश बनाउनु पर्ने बताएका हुन् ।
अन्तक्रिया कार्यक्रममा व्यवसायीहरुले राखेका प्रश्नको उत्तर दिने क्रममा सचिव पुष्करले त्रुटी भएका ठाउँमा सच्याउँदै देशको विकासका लागि सोच्नु पर्ने बताए । ‘आयातमा देखिएको चुनौती समाधानका लागि का गर्नका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्नु पर्छ,’ उनले भने ।
सबैको उद्देश्य राज्यलाई समृद्धि तर्फ लैजाने भएकाले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार तयार रहेको सचिव पुष्करले बताए । निर्यातका लागि सहुलियत दिने कुराको सुरुवात भएको भन्दै यसबाट उद्योगी व्यवसायीलाई यसबाट लाभ मिल्ने उनको भनाई छ ।
व्यवसायीले अनाधिकृत रुपमा नेपाल भित्रने सामनमा कडाई गर्नका लागि आग्रह गरेको सम्बन्धमा भने राजश्व सचिव पुष्करले यसमा व्यवसायी नै संलग्न हुने भन्दै यस विषयमा जानकारी दिएनका लागि पनि व्यवसायीलाई उनले आग्रह गरे । ‘अनाधिकृत रुपमा सामान ल्याउने पनि हामी मध्येकै कुनै व्यवसायी हुन्छ, यस विषयमा जानकारी गराउनुहोस् हामी कार्वाही गर्छौँ,’ उनले भने ।
व्यक्तिगत लाभ भन्दा पनि राज्यको भलो सोचेर काम गर्न आग्रह गर्दै यस्ता अन्तक्रियाबाट आएका सुझाबलाई आत्मसाथ गरेर अघि बढ्नु पर्ने उनको भनाई थियो । राज्यलाई आत्मनिर्भर बनाउने तर्फ सबैको ध्यान केन्द्रित हुनु पर्ने आजको आवश्यकता रहेको उनले बताए ।
यता नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राज्य आत्मनिर्भर बन्नका लागि आन्तरिक उत्पादनमा वृद्धि गर्ने किसिमका कार्यक्रम आउनु पर्ने बताए । सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई सरकारले प्राथमिकता दिने भने पनि त्यसका लागि आवश्यक पर्ने पूर्वाधारको विकासमा ध्यान दिनु पर्ने उनको धारणा थियो । नेपालमा सिँचाई, विउ, बिजन लगायतका कुराहरु पनि समयमै उपलब्ध हुनु पर्ने उनले बताए ।
सरकारले निर्यात दोब्बरले बढाउने र निर्यात २० प्रतिशले घटाउने घोषणा गरेको अवस्थामा कृषि क्षेत्रका लागि आवश्यक पर्ने पूर्वाधारमा सरकारले ध्यान दिनु पर्ने उनको तर्क थियो । साथै अनुदान दिने भनिएको तर त्यसमा व्यवसायीहरु विश्वस्त हुन सक्ने अवस्था नरहेको उको भनाइ छ । त्यसका लागि यो व्यवस्थाका लागि नियमावाली बनाएर कार्यान्वयन गर्नका लागि ढीलो गर्न नहुने उनले बताए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले औद्योगिक क्षेत्रलाई महत्व दिएर बजेट आएको भए पनि कार्यान्वयन पक्षमा ध्यान दिनु पर्ने उनले बताए । बजेटमा गैर आवासिय नेपाली संघ, लगायत क्षेत्रको सहयोग लिने भनिएको भए पनि त्यसलाई कार्यान्वयन गर्नु पर्ने बताए ।
यता चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकार र निजी क्षेत्र सँगसँगै अघि बढ्नु पर्ने बताएका छन् । बजेट राम्रो भएको भन्दै कार्यान्वयन पक्षमा ध्यान दिनु पर्ने उनको सुझाब थियो । उनले अत्यावश्यक बस्तु बाहेक अन्यमा भ्याट बढाउन पनि आग्रह गरेका छन् । विलाशिताको बस्तुमा भ्याट बढाएर भए पनि अत्यावश्यक वस्तु मूल्य बढाउन नहुने उनको तर्क थियो ।
कार्यक्रममा सहभागि व्यवसायीहरुले बजेट कार्यान्वय गर्नु पर्ने र कर दिउँदिउँ लाग्ने किसिमको वातावरण निर्माण गर्नु पर्ने सुझाब दिएका थिए । राज्यले व्यापार व्यवसाय गर्नका लागि सहज वातावरण निर्मण गर्नु पर्ने उनीहरुको सुझाब थियो ।















