कार्यकर्तालाई रविको आग्रह : मलाई सरकारको विश्वास छैन, चनाखो रहनुहोला
वि.सं.२०८१ असोज ७ सोमवार ११:४३
shares

काठमाडौं, ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कानुनी नैतिक र राजनीतिक रुपमा जुनसुकै ठाउँमा पनि सत्यको लागि लड्न तयार रहेको बताएका छन् ।
आइतबार राति पार्टी कार्यालयमा सम्बोधन गर्दै उनले सत्यको पक्षमा आफू जहाँ पनि जान तयार रहेको भन्दै आफूलाई पक्राउ गरेर लैजान चुनौती दिएका हुन् ।
एउटा मान्छेलाई जसरी पनि घेराबन्दीमा पार्न खोजिएको भन्दै आफू अभिमन्यू नभएको र चक्रब्युहबाट निस्कन सक्ने बताए । नयाँ आएका दललाई भाग खान आएको भन्दै कटाक्ष गर्ने र गलत काम गर्ने काम पुराना राजनीतिक दलले आग्रह गरेका छन् ।
सरकारले आफूलाई पक्राउ गर्न लागेको बारे जानकारी नभएको भए पनि विश्वास भने नभएको बताए । उनले झुक्याएर केही काम नगर्न आग्रह गरे । जहाँ सुकै लैजानुस् तयार छु । तर झुक्याएर होइन,’ उनले भने,’ मलाई यो दुई तिहाइको सरकारको विश्वास छैन, चनाखो रहनु होला, तयार रहनु होला ।’
‘सरकार अधिनायकवादतिर जाँदै छ कि भन्ने संकेत छ,’ उनले भने, ‘ हिजो पनि अन्यायको शिकार भएको हुँ र आज पनि निरन्तरको घेराबन्दीमा छु ।’ उनले रवि लामिछानेलाई जोगाउनु नपर्ने भन्दै देशमा नयाँ आशा र भरोसालाई जोगाउन लाग्न आग्रह गरे । सहकारी छानबिन समितिको प्रतिवेदनले सहकारी घोटालामा आफ्नो संलग्नता नरहेको प्रमाणित गरिसकेको उनको दाबी छ ।















