Dhulikhel Eco Banner new

३ खर्ब २३ अर्ब २४ करोड राजस्व संकलन, १७ प्रतिशतले राजस्व वृद्धि

2.96K
shares

काठमाडौं, ६ मंसिर । चालू आर्थिक वर्षको चार महिनामा ३ खर्ब २३ अर्ब २४ करोड रुपैयाँ  संकलन भएको छ । राजस्व गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा करिब १७ प्रतिशतले बढि हो ।

अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा प्रस्तुत गरिएको विवरण अनुसार गत वर्ष यही अवधिमा २ खर्ब ७६ अर्ब राजस्व संकलन भएको थियो । यसैमध्ये चालु वर्षको प्रथम चार महिनाको साउन, भदौ, असोज र कार्तिकमा ४ खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ३ खर्ब २३ अर्ब २४ करोड रुपैयाँ अर्थात् लक्ष्यको करिब ८० प्रतिशत राजस्व संकलन भएको छ । यो गत वर्षको यसै अवधिको राजस्व संकलनको तुलनामा १६.८५ प्रतिशत वृद्धि बढी हो ।

पाँच वर्षको राजस्व परिचालनको तुलनात्मक अवस्थालाई हेर्दा आर्थिक वर्ष २०७६/७७ मा ११ खर्ब १२ अर्ब ३ करोड रुपैयाँ लक्ष्य रहेकोमा ७१.३८ प्रतिशत प्रगति भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७७/७८ मा १० खर्ब ११ अर्ब ७६ करोड रुपैयाँ लक्ष्य रहेकोमा ९२.५० प्रतिशत प्रगति हासिल भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा ९०.२४ प्रतिशत प्रगतिहासिल भएको थियो ।

त्यसै गरी आर्थिक वर्ष २०७९/८० मा १४ खर्ब ३ अर्ब १५ करोड राजस्व संकलनको लक्ष्य रहेकोमा ६८.२३ प्रतिशत र आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब २२ अर्ब ५४ करोड राजस्व संकलनको लक्ष्य रहेकोमा ७४.५४ प्रगति भएको थियो । आर्थिक वर्ष २०८१/८२ को वार्षिक राजस्व संकलनको लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रहेको छ । यो लक्ष्य भनेको गत आर्थिक वर्षको यथार्थ असुलीको तुलनामा करिब ३४ प्रतिशतको वृद्धि हो ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत र खर्च व्यवस्थापन महत्त्वपूर्ण रहेको उल्लेख गर्दै करको दायरा विस्तार, बक्यौता असुली,कर प्रशासनको प्रभावकारिता, कर्मचारीको आचरण, अन्तर मन्त्रालय समन्वय, भन्सार बिन्दुभन्दा बाहिरका गतिविधि, कर प्रशासनमा सिर्जना गर्न खोजिएका चुनौती लगायतका पक्षलाई ध्यान दिएर अघि बढ्न आवश्यक भएको बताए ।