डलरको मूल्य बढ्ने क्रम जारी, आज नयाँ रेकर्ड
वि.सं.२०७९ जेठ २७ शुक्रवार १२:३७
shares

काठमाडौं, २७ जेठ । शुक्रबार डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार नै बढेर नयाँ उचाइमा पुगेको डलरको भाउ शुक्रबार पनि ५ पैसाले बढेर नयाँ उचाइमा पुगेको हो ।
नेपाल राष्ट्र बैंकको अनुसार शुक्रबार अमेरिकी डलरको मूल्य १२४ रुपैयाँ ७३ पैसा पुगेको छ । यो हालसम्मकै उच्च दर हो । बिहीबार अमेरिकी डलरको भाउ १२४ रुपैयाँ ६८ पैसा थियो ।
रुस र युक्रेनबीच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढ्दै गएको हो । रुस र युक्रेनको युद्धका कारण भारतीय रुपैयाँ कमजोर भएको छ । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ ।
यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो । डलरको मूल्य बढ्दा आयातमुखी अर्थतन्त्र भएको नेपाललाई घाटा हुने निश्चित छ । नेपालले विदेशीलाई तिर्नु पर्ने ऋणको साँवा र ब्याज समेत डलरमा भुक्तानी गर्नु पर्ने भएकाले अर्थतन्त्रमा नकारात्मक असर गर्छ । निर्यातमुखी अर्थतन्त्र भएको अवस्थामा मात्रै डलरको मूल्य बढ्दा फाइदा हुन्छ । यसको असर सम्पूर्ण नेपालीको भान्सा सम्मै पुग्छ । सबै सामानको मूल्य बढ्न जान्छ ।

















