Dhulikhel Eco Banner new

आज माघे संक्रान्ति पर्व मनाइँदै, देशभर सार्वजनिक विदा

3.04K
shares

काठमाडौं, १ माघ । आज देशभर माघे संक्रान्ति मनाइँदैछ। माघ १ गते पर्ने यो पर्व नेपालका थारु, मगर लगायत हिन्दू समुदायले विशेष महत्त्वका साथ मनाउने परम्परा रहीआएको छ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ ।

यस दिनबाट उत्तरायण सुरू हुने गर्छ। उत्तरायणको बेला दिनहरू लामो र रातहरू छोटो हुने गर्छन् भने गृह प्रवेश, व्रतबन्ध आदि शुभ कार्य आदिका लागि उचित मानिन्छ।

माघे संक्रान्तिमा तिल, चाकु, घ्यू, गुँदपाक, तरुल र खिचडी जस्ता परिकार खाने चलन छ। धार्मिक आस्थाका साथ देशका विभिन्न पवित्र नदी किनारमा नुहाउने र विशेष पूजा गर्ने प्रचलन रहेको छ। त्रिवेणीधाम, देवघाट, चितवनको नारायणी नदी र सुनसरीको कोशीतटमा श्रद्धालुहरूको भीड लाग्ने गर्छ।

सरकारले यस अवसरमा सार्वजनिक विदा दिएको छ। यससँगै देशभरका सरकारी कार्यालय, विद्यालय, बैंक तथा वित्तीय संस्था, नेप्से लगायत सार्वजनिक संस्थानहरू आज बन्द रहनेछन्।