आशा लघुवित्तको खुद नाफा बढ्यो, हेर्नुस् अन्य सूचक कस्तो ?
वि.सं.२०८२ वैशाख २२ सोमवार १०:२२
shares

काठमाडौं, २२ वैशाख । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ६ करोड ५६ लाख भन्दा बढी खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ६९ प्रतिशतले बढी हो ।
गत वर्ष यस अवधिमा ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु वर्षमा प्रतिशेयर आम्दानी पनि सुधार गरी ११ रुपैयाँ ९३ पैसामा पुर्याएको छ। अघिल्लो वर्ष यो ८ रुपैयाँ ७ पैसा मात्र थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ भने १४३ रुपैयाँ ३८ पैसामा पुगेको छ।
कम्पनीको खुद ब्याज आम्दानी ३१ करोड ६२ लाख रुपैयाँबाट बढेर ५० करोड ८० लाख रुपैयाँ नाघेको छ। यससँगै सञ्चालन नाफा पनि साढे ५ करोड रुपैयाँबाट बढेर ९ करोड ६६ लाख रुपैयाँ पुगेको छ।
हाल आशा लघुवित्तको चुक्ता पूँजी ७३ करोड ३० लाख रुपैयाँ रहेको छ। कम्पनीको जगेडा कोषमा ४ करोड ७७ लाख रुपैयाँभन्दा बढी र रिजर्भ कोषमा ३४ करोड ३ लाख रुपैयाँभन्दा बढी रकम रहेको छ।
कम्पनीले हालसम्म ६ अर्ब ३८ करोड रुपैयाँ सापटी लिएर १० अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ। यस अवधिमा कम्पनीले ३ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। कम्पनीको निष्क्रिय कर्जा ४.९५ प्रतिशतबाट थोरै वृद्धि भई ४.९७ प्रतिशतमा पुगेको छ।

















