Dhulikhel Eco Banner new

चिनी अभाव नहुने

5.33K
shares

काठमाडौं, ३ असार । पछिल्लो समय भारत सरकारले चिनी निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा चिनीको मूल्य बढ्न थालेको छ । पछिल्लो १५ दिनको अवधिमा किलोमै रु २० ले चिनीको मूल्य बढेको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी उद्योगीसँग छलफल गरेको छ ।

चिनीको मूल्यका विषयमा विभागले चिनी उत्पादक सङ्घ, साल्टट्रेडिङ कर्पोरेशन तथा नेपाल खुद्रा व्यवसायी सङ्घका प्रतिनिधिसँग बिहीबार छलफल गरेको हो । विभागका महानिर्देशक लीलाप्रसाद शर्माले चिनीको मूूल्यको विषयमा विभिन्न निकायका प्रतिनिधिसँग विभागमा छलफल गरिएको जानकारी दिए । चिनी उत्पादकले उत्पादन लागत बढ्दा चिनीको मूल्य बढेको भन्दै भारतीय प्रतिबन्धले मूल्यमा कुनै असर नगरेको बताएको उनले जानकारी दिए।

छलफलमा चिनी उत्पादक सङ्घका उपाध्यक्ष राजकुमार अग्रवालले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर ढुवानीमा परेको जानकारी गराएका महानिर्देशक शर्माले बताए । पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर चिनी उत्पादनदेखि ढुवानीसम्म परेको भन्दै त्यसको कारण चिनीको मूल्य बढेको सङ्घले जनाएको छ । सङ्घले उद्योगबाटै प्रतिकिलो रु ९३।८३ मा चिनी बिक्री गर्ने गरेको छ ।

“उद्योगमै चिनीको मूल्य बढेको छ, उद्योग हुँदै होलसेल तथा खुद्रा पसलमा चिनी पुग्दा मूल्य बढी हाल्छ, अहिले चिनीको मूल्य बढ्नु स्वभाविक हो”, उनले भने ।

भारतले जुन १ तारिखदेखि चिनी निर्यातमा रोक लगाएको थियो । भारतले चिनी निर्यातमा रोक लगाएसँगै नेपालमा चिनी उद्योगी तथा व्यवसायीले किलोमै रु २० बढाएका छन् । यसअघि प्रतिकिलो रु ९० मा पाइने चिनी भारतको प्रतिबन्धपश्चात रु ११० पुगेको छ ।