Dhulikhel Eco Banner new

जीवन बीमा कम्पनीको नाफा ११ प्रतिशतले वृद्धि, अग्रस्थानमा नेपाल लाइफ

3.11K
shares

काठमाडौं, २ जेठ । जीवन बीमा कम्पनीहरूको नाफा करिब ११ प्रतिशतका दरले बढेको छ । सार्वजनिक तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सूचीकृत १२ जीवन बीमा कम्पनीहरूले साउनदेखि चैत मसान्तसम्म ४ अर्ब ५४ करोड खुद नाफा कमाएका हुन् ।

गत वर्षको यसै अवधिमा यस्तो नाफा ४ अर्ब ९ करोड थियो । सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । जसले ९ महिनामा ६५ करोड २२ लाख खुद नाफा कमाएको छ । नाफा धेरै बढाउनेमा भने एसियन लाइफ इन्स्योरेन्स छ ।

समीक्षा अवधिमा सो कम्पनीको नाफा ५९ प्रतिशतले बढेको छ । दुईबाहेक सबै जीवन बीमा कम्पनीको नाफा बढेको छ । राष्ट्रिय जीवन बीमाको ३७ र सन नेपाल लाइफ इन्स्योरेन्सको ३३ प्रतिशतले नाफा घटेको छ ।

साथै,  हिमालयन लाइफको मुनाफा ८.४९ प्रतिशतले वृद्धि भई ४३ करोड ५४ लाखबाट ४७ करोड २४ लाख रुपैयाँ पुगेको छ ।

रिलायबल नेपाल लाइफले छोटो अवधिमा सफल भएको छ । यस अवधिमा कम्पनीले ४६ करोड ५७ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको छ ।

त्यस्तै , नेशनल लाइफले ४० करोड ८५ लाख , आइएमई लाइफले ३६ करोड ६३ लाख , सिटिजन लाइफले ३५ करोड ७६ लाख, मेट लाइफले ३४ करोड ५१ लाख, सानिमा रिलायन्सले ३३ करोड ७६ लाख  खुद नाफा आर्जन गरेको छ ।

समीक्षा अवधिमा सन नेपाल लाइफले ३२ करोड ८९ लाख , सूर्यज्योति लाइफले २९ करोड ५७ लाख, प्रभु महालक्ष्मी लाइफले २७ करोड सात लाख, एलआइसी नेपालले २३ करोड ६० लाख  र राष्ट्रिय जीवन बीमा कम्पनीले एक करोड ५४ लाख  खुद नाफा रहेको छ ।

कम्पनीहरुको नाफा बढे पनि प्रतिसेयर आम्दानी बढ्न सकेको छैन ।१२ कम्पनीको औसत प्रतिसेयर आम्दानी १० रुपैयाँ १३ पैसा छ । पहिले यस्तो आम्दानी १० रुपैयाँ ३४ पैसा थियो ।