Dhulikhel Eco Banner new

राष्ट्र बैंकद्वारा शेयर धितो कर्जाको जोखिम भार घटाउने निर्णय

2.77K
shares

काठमाडौं, १२ जेठ । नेपाल राष्ट्र बैंकले करिब १ खर्ब रुपैयाँ बराबरको शेयर धितो कर्जाको जोखिम भार २५ प्रतिशत बिन्दुले घटाएको छ। आइतवार सार्वजनिक मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामार्फत राष्ट्र बैंकले अबदेखि सबै शेयर धितो कर्जामा जोखिम भार १०० प्रतिशत मात्र लागु हुने निर्णय गरेको हो।

यसअघि ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार र ५० लाख रुपैयाँभन्दा माथिको कर्जामा १२५ प्रतिशत जोखिम भार लागु हुँदै आएको थियो। अबदेखि ५० लाखभन्दा माथिको कर्जामा पनि जोखिम भार घटाएर १०० प्रतिशत पुर्‍याइएको छ।

राष्ट्र बैंकको २०८१ चैत मसान्तको तथ्यांकअनुसार कुल शेयर धितो कर्जा १ खर्ब २४ अर्ब रुपैयाँ छ । करिब १ खर्ब रुपैयाँ ५० लाखभन्दा माथिका कर्जामा पर्छ। हालसम्म उक्त कर्जामा १२५ प्रतिशत जोखिम भार लाग्दा जोखिम भारित सम्पत्ति १ खर्ब २५ अर्ब पुग्थ्यो। अब १०० प्रतिशत मात्रै जोखिम भार लाग्दा सो सम्पत्ति १ खर्ब रुपैयाँमा झर्नेछ।

कोभिड–१९ को समयमा विदेशी विनिमय सञ्चितिमा आएको दबाबका कारण २०७८ सालमा कडा नियामकीय नीतिहरू लागू गरिएका थिए। त्यस क्रममा सेयर धितो कर्जामा जोखिम भार १५० प्रतिशतसम्म पुर्‍याइएको थियो।

नयाँ गभर्नर डा. विश्वनाथ पौडेलको कार्यकाल प्रारम्भसँगै गरिएको यो निर्णयलाई बजारमैत्री कदमको रुपमा हेरिएको छ। यद्यपि, सुचीकृत नभएका शेयर र उच्च जोखिम भएका बन्डहरूमा भने जोखिम भार १०० प्रतिशतभन्दा माथि हुन सक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।