Dhulikhel Eco Banner new

गुणाकर भट्टको राजीनामा अस्वीकृत, गभर्नरको कार्यलयमा पुनः जिम्मेवारी

2.78K
shares

काठमाडौं, ११ जेठ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणकर भट्टको राजीनामा अस्वीकृत भएको छ। गभर्नर डा. विश्वनाथ पौडेलले भट्टको राजीनामा अस्वीकार गर्दै उनलाई पुनः कार्यभारमा फर्काएका हुन्।

गभर्नर पौडेलले डा. भट्टलाई गभर्नर कार्यालयको जिम्मेवारी दिएका छन्। यसअघि अनुसन्धान विभागमा रहेका भट्टलाई गभर्नरको कार्यालयमा ल्याइएपछि अनुसन्धान विभागको नेतृत्व अब डा. रामशरण खरेलले लिने भएका छन्। खरेल यसअघि मानव संशाधन विभागमा कार्यरत थिए।

मानव संशाधन विभागको खाली पद भने अब कार्यकारी निर्देशक विश्रुत थापाले सम्हाल्ने छन्।

राष्ट्र बैंकका अनुसार डा. भट्ट हाल केही काम विशेषले बाहिर छन् र उनी केही दिनमै नयाँ जिम्मेवारी बहन गर्न उपस्थित हुने जानकारी दिएको छ।

गत वैशाख ५ गते डा. भट्टले कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। नेपाली कांग्रेसले उनलाई गभर्नर बनाउने आश्वासन दिएको चर्चा थियो। कार्यवाहक गभर्नर नीलम ढुंगाना तिम्सिनाले भट्टको राजीनामा स्वीकृत नगरेकी थिइन्। उनले गभर्नर नियुक्तिसम्बन्धी प्रतिस्पर्धा रोक्ने उद्देश्यले राजीनामा स्वीकृत नगरेको टिप्पणी गरेका थिए।