ट्रेड टावरको आईपीओमा आवेदन दिने म्याद मंगलवारसम्म थप
वि.सं.२०८२ जेठ १९ सोमवार १०:५२
shares

काठमाडौं, १९ जेठ । ट्रेड टावर लिमिटेडको प्राथमिक शेयर आइपिओमा आवेदन दिने समय एक दिन थप भएको छ । उक्त कम्पनीको आईपीओमा जेठ २० गते मंगलवारसम्म आवेदन दिन सकिने भएको हो ।
यसअघि जेठ १९ गतेसम्म आवेदन दिन सकिने उल्लेख गरिएको थियो, तर भोटो जात्राको अवसरमा जेठ १८ गते उपत्यकामा सार्वजनिक विदा दिइएकाले कम्पनीले निष्कासन अवधि एक दिन थप गरेको हो।
कम्पनीले जेठ १४ गते बुधवाररदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो। ट्रेड टावरले प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ३२ लाख ९६ हजार ५०५ कित्ता शेयर निष्कासनमा ल्याएको छ। यो कम्पनीको कुल जारी पूँजी ८१ करोड ५६ लाख रुपैयाँ मध्ये ४८.६९६ प्रतिशत अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर सर्वसाधारणलाई जारी गरिएको हो।
यस मध्ये १० प्रतिशत (३ लाख ९७ हजार १६९ कित्ता शेयर) वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो, जुन आइपीओको बाँडफाँट भइसकेको छ। बाँकी शेयर सर्वसाधारणका लागि खुला गरिएको हो। इच्छुक आवेदकले न्यूनतम १० कित्ता देखि अधिकतम १ हजार कित्तासम्म शेयरका लागि आवेदन दिन सक्नेछन्।
यस आइपीओमा सी–आस्वा प्रणाली अन्तर्गत बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आवेदन दिन सकिनेछ। लक्ष्मी सनराइज क्यापिटल यस आईपीओको बिक्री प्रबन्धकको रूपमा रहेको छ।
इक्रा नेपालले ट्रेड टावर लिमिटेडको आईपीओलाई ूइक्रा एनपी डबल बी माइनसू रेटिङ प्रदान गरेको छ। यो रेटिङ कम्पनीले समयमा दायित्व बहन गर्न सक्ने औसत क्षमताको संकेत हो। उक्त रेटिङ २०८१ माघ ७ गते दिइएको हो र २०८२ माघ ७ गतेसम्म मान्य रहनेछ।














