Dhulikhel Eco Banner new

निफ्राको ‘हरित ऊर्जा ऋणपत्र’मा आवेदन दिने समय ३ दिन थप

2.63K
shares

काठमाडौं, २२ जेठ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) द्वारा जारी ‘निफ्रा हरित ऊर्जा ऋणपत्र’मा आवेदन दिने म्याद थप गरिएको छ। अब लगानीकर्ताहरूले जेठ २५ गतेसम्म यो ऋणपत्रमा आवेदन दिन सक्नेछन्।

निफ्राले जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो। प्रारम्भिक रूपमा आवेदन दिने अन्तिम म्याद जेठ २१ गते तोकिएको थियो। तर, भोटो जात्राको अवसरमा सार्वजनिक बिदा परेकाले एक दिन थप गर्दै म्याद जेठ २२ गतेसम्म पुर्‍याइएको थियो। मागअनुसार पर्याप्त आवेदन नपरेपछि निष्कासन अवधि थप तीन दिन लम्ब्याइएको हो।

ऋणपत्र १ हजार रुपैयाँ अंकित दरका ५० लाख इकाइमा सार्वजनिक गरिएको छ। जसमा ३० लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणलाई छुट्याइएको इकाइमध्ये १ लाख इकाइ सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ भने बाँकी १९ लाख इकाइमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतम १० लाख इकाइसम्मको लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरू तथा सीडीएससीको मेरो शेयरमार्फत दिन सकिनेछ।

सात वर्ष अवधिको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ६ प्रतिशत व्याज प्राप्त गर्नेछन्।निफ्राको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।