Dhulikhel Eco Banner new

नेपाल बैंकका पूर्व अध्यक्ष अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

4.38K
shares

काठमाडौं, २७ जेठ । नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

मुद्दामा संलग्न अन्य चार व्यक्ति लक्की भनेर चिनिने खुस नसिब अन्सारी, अमृत भुसाल, अंकित भुसाल र बालकृष्ण भुसाल रहेका छन्। उनीहरू रूपन्देहीको सिद्धार्थनगर–९, बेलहियामा रहेको भुसाल हस्पिटालिटी अन्तर्गतको र्‍याडिसन प्रोजेक्टको नाममा लिइएको ठुलो परिमाणको ऋण प्रक्रियामा घुस लेनदेनमा संलग्न रहेको अख्तियारको दाबी छ।

भुसाल हस्पिटालिटीले नेपाल बैंक लिमिटेडको प्रधान कार्यालयमार्फत १ अर्ब ७७ करोड २९ लाख ८६ हजार ७६७ रुपैयाँ ऋणका लागि प्रस्ताव दर्ता गरेको थियो। उक्त ऋण प्रक्रिया अघि बढाउन बालकृष्ण भुसाल र उनका छोरा अंकित भुसाल सक्रिय थिए। सो क्रममा तत्कालीन बैंक अध्यक्ष चन्द्रबहादुर अधिकारीसँग पटक–पटक भेटघाट र ह्वाट्सएपमार्फत कुराकानी भएको अख्तियारले जनाएको छ।

घुस स्वरूप अधिकारीले २०८१ भदौ ३० गते अंकित भुसालसँग रकम मागेका थिए। त्यसपछि बालकृष्ण भुसालले प्राइम कमर्सियल बैंकको चेकमार्फत ७ लाख रुपैयाँ उपलब्ध गराएका थिए, जुन चेक लक्कीमार्फत राकेश थापाले सटही गरेका थिए।

त्यसपछि अधिकारीले थप १२ लाख रुपैयाँ शारदा गुप्ताको नाममा दर्ता रहेको अनन्या इन्टरप्राइजमार्फत लिएको अख्तियारले उल्लेख गरेको छ। अंकित भुसालले आफ्ना बुवासँग रकम मागेर उक्त इन्टरप्राइजेजको खातामा पैसा जम्मा गराएका थिए। सो रकम शारदा र रिंकु गुप्ताले सामानको रूपमा लक्की खानलाई पठाइदिएपछि, लक्कीले ती सामान अधिकारीलाई बुझाएका थिए।

कुल १९ लाख रुपैयाँको घुसबापत लेनदेन भएको प्रमाण अख्तियारले अधिकारीको घरबाट २०८१ माघ २३ गते छानबिनको क्रममा फेला पारेको बताइएको छ।

अख्तियारले यी सबै प्रमाणका आधारमा घुस लिएको, दिएको र मध्यस्थता गरेको आरोपमा पाँचै जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।